पवित्र बाइबल
रोमी 13
हरेक व्यक्ति उच्च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन् । यसकारण, जसले उक्त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्वरको विरोध गर्दछ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैँमाथि न्याय गर्छन् । असल कामहरूका निम्ति होइन, तर दुष्ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ । किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्ति हुन् । यसकारण, क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ । तसर्थ, तिमी कर पनि तिर्छौ । अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्वरका सेवकहरू हुन् । तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्नुपर्नेको डर मान; जसको इज्जत गर्नुपर्ने हो, उसको इज्जत गर । एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्यसकारण, प्रेममा नै व्यवस्था पुरा हुन्छ । यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ । रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ । उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौँ । अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौँ, न त झगडा र ईर्ष्यामा नै हिँडौँ । तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.