पवित्र बाइबल
भजनसंग्रह 96
परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ । परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन । उहाँको उद्धार दिनदिनै घोषणा गर । उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर । किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्नुपर्छ । किनकि जातिहरूका सबै देवता मूर्तीहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ । उहाँको उपस्थितिमा वैभव र ऐश्वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् । हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्तुति गर । परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्याओ र उहाँको मन्दिरभित्र आओ । पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ । जातिहरू माझमा भन, “परमप्रभुले राज्य गर्नुहुन्छ ।” संसार पनि स्थापित भएको छ । यसलाई डगाउन सकिंदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ । आकाश खुसी होस् र पृथ्वी आनन्दित होस् । समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस् । मैदानहरू र त्यसमा भएका सबै थोक आनन्दित होऊन् । वनका सबै रूखहरूले आनन्दले कराऊन्, परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.