पवित्र बाइबल
भजनसंग्रह 88
हे परमप्रभु, मेरो उद्धारको परमेश्वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु । मेरो प्रार्थना सुन्नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् । किनकि म कष्टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ । मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ । म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्छन् । तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्नुहुन्छ । तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ । मेरा आँखाहरू कष्टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु । के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला के तपाईंको करारको विश्वस्तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र? के तपाईंका अचम्मका कामहरू अन्धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र? तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ । हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ? मेरो जवान अवस्थादेखि नै म सधैं कष्टमा परेको र मृत्युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशमा छु । तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्दा कामहरूले मलाई नाश पारेका छन् । तिनीहरूले मलाई दिनभरि पानीले झैं घेर्छन् । तिनीहरू सबैले मलाई घेरेका छन् । तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनजानको भनेको अन्धकार मात्र हो ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.