पवित्र बाइबल
भजनसंग्रह 42
जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, त्यसरी नै, हे परमेश्वर, म तपाईंको तृष्णा गर्छु । परमेश्वरको, जीवित परमेश्वरको तृष्णा म गर्छु, म कहिले आऊँ र परमेश्वरको सामु देखा परू? दिनरात मेरा आँशु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैं यसो भन्छन्, “तेरो परमेश्वर खोइ कहाँ छन्?” मेरो प्राण खन्याउँदा यी कुराहरू मनमा म याद गर्छुः कसरी म भिडसँग गएँ, अनि उत्सव मनाउने धेरै जनाको भिडसँग आनन्द र प्रशंसाको सोरसँगै परमेश्वरको मन्दिरमा तिनीहरूलाई डोर्याएँ । ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार हुनुहुन्छ । हे मेरो परमेश्वर, मेरो प्राण मभित्रै निराश भएको छ, यसकारण यर्दनको भूमिबाट, हेर्मोनका तिन टाकुराबाट र मिसारको डाँडाबाट तपाईंलाई सम्झन्छु । तपाईंका झरनाहरूका हल्लामा सागरले सागरलाई बोलाउँछ । तपाईंका सबै छाल र तरङ्गहरू ममाथि गएका छन् । तापनि परमप्रभुले दिनको समयमा आफ्नो करारको विश्वस्ततालाई आज्ञा गर्नुहुनेछ । उहाँको गीत, मेरो जीवनको परमेश्वरमा गरेको प्रार्थना रातमा मसँग हुनेछ । परमेश्वर, मेरा चट्टानलाई म भन्नेछु, “तपाईंले मलाई किन बिर्सनुभएको छ? शत्रुले थिचेको कारणले मैले किन शोक गर्नुपर्ने?” मेरा हाडहरूमा तरवार परेझैं, मेरा शत्रुहरूले मलाई हप्काउँछन्, तिनीहरू सधैं मलाई यसो भन्छन्, “तेरो परमेश्वर खोइ कहाँ छन्?” ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्वर हुनुहुन्छ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.