Skip to content
BibleKenya

पवित्र बाइबल

भजनसंग्रह 2

जातिहरूले किन कोलाहल मच्‍चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्? पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्, “तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।” स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ । तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ, “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।” परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु । मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु । तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।” त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ । भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ । पुत्रलाई चुम्बन गर नत्र तिमीहरूसँग उहाँ रिसाउनुहुनेछ र उहाँको क्रोध एक क्षणको निम्ति दन्किंदा तिमीहरू बाटैमा मर्नेछौ । उहाँमा शरण लिने सबै जना कति धन्य हुन् ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.