पवित्र बाइबल
भजनसंग्रह 143
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । मेरो बिन्ती सुन्नुहोस् । तपाईंको विश्वस्तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् । तपाईंको सेवकलाई इन्साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्टिमा कोही पनि धर्मी छैन । शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्यसले मलाई जमिनमा कुल्चेको छ । त्यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्न लगाएको छ । मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ । पुराना दिनहरूलाई म सम्झिन्छु । तपाईंका सबै कामहरू म ध्यान गर्छु । तपाईंका उपव्धीहरूमा म चिन्तन गर्छु । म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु । सुख्खा जमिनमा मेरो प्राण तपाईंको तृष्णा गर्छ । सेला हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु । बिहानमा मलाई तपाईंको करारको विश्वस्तता सुन्न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्नो प्राण तपाईंतिर उचाल्छु । हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्नलाई म तपाईंकहाँ भागेर आउँछु । तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्याओस् । हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्टबाट बाहिर निकाल्नुहोस् । तपाईंको करारको विश्वस्ततामा मेरा शत्रुहरूलाई नष्ट पार्नुहोस् र मेरो जीवनका सबै शत्रुलाई नाश गर्नुहोस्, किनकि म तपाईंको सेवक हुँ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.