पवित्र बाइबल
भजनसंग्रह 118
परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । इस्राएलले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्वतन्त्र गर्नुभयो । परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र? परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्टिले हे्र्नेछु । मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ । कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ । सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें । तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें । तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें । तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो । परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ । धर्मीहरूका पालहरूमा विजयको आनन्दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ । परमप्रभुको दाहिने बाहुली उच्च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ । म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु । परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन । मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु । यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्छ । म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ । निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ । यो परमप्रभुको काम हो । यो हाम्रा दृष्टिमा अचम्मको कुरा हो । यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्दित हुनेछौं र खुसी हुनेछौं । हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस् ! परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्दिरबाट हामी आशीर्वाद दिनेछौं । परमप्रभु परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई ज्योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध । तपाईं मेरो परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्वर हुनुहुन्छ । म तपाईंलाई उच्च पार्नेछु । परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.