पवित्र बाइबल
भजनसंग्रह 115
हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको खातिर तपाईंको नाउँको महिमा होस् । जातिहरूले किन यसो भन्ने, “तिनीहरूका परमेश्वर कहाँ छ?” हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ । जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् । ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्दैनन् । तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् । ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् । तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति त्यस्तै हुन्छ । ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ । ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ । तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ । परमप्रभुले हामीलाई ध्यान दिनुहुन्छ र हामीलाई आशिष् दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष् दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष् दिनुहुनेछ । उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष् दिनुहुनेछ । परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्ख्या धेरै वृद्धि गरून् । परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो । स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ । मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्तमा जाने कसैले गर्नेछ । तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.