पवित्र बाइबल
ओबदिया 1
ओबदियाले देखेका दर्शन । एदोमको विषयमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “हामीले परमप्रभुबाट एउटा सन्देश सुनेका छौं, र जातिहरूका बिचमा एक जना राजदूतलाई यसो भनेर पठाइएको छ, ‘उठ! हामी युद्धको निम्ति त्यसको विरुद्धमा उठौं!’ हेर्, म तिमीहरूलाई जाति-जातिका बिचमा सानो तुल्याउनेछु, तिमीहरू अति घृणित हुनेछौ । ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्नेहरू “कसले मलाई तल जमिनमा खसाल्छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ । तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ । तिमीहरूकहाँ चोरहरू आउँदा, रातमा डाँकुहरू आउँदा— तिमीहरूको कस्तो सर्वनाश होला!— के तिनीहरूले आफूलाई चाहिने जति मात्र चोरेर लाँदैनन् र? दाख बाटुल्नेहरू तिमीहरूकहाँ आए भने, तिनीहरूले अलिअलि सिलाहरू छोड्दैनन् र? तर एसाव कसरी लुटिएको छ, त्यसका लुकाइएका धनसम्पत्तिको खोजिनेछ । तेरा मित्रराष्ट्रका सबै मानिसहरूले तँलाई सिमाना कटाउनेछन् । तँसँग मिलापमा भएका मानिसहरूले तँलाई धोका दिएका छन्, र तेरो विरूद्धमा प्रबल भएका छन् । तेरो रोटी खानेहरूले नै तेरोमुनि पासो थापेका छन् । उसमा कुनै सुझबुझ नै छैन । परमप्रभु भन्नुहुन्छ, “त्यो दिनमा के म एदोमबाट बुद्धिमान् मानिसहरूलाई र एसावका पहाडबाट समझदारलाई नाश गर्नेछैनँ र?” ए तेमान, तेरा बलवान मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् । तेरो भाइ याकूबमाथि गरिएको क्रूरताको कारणले, तँ शर्ममा पर्नेछस्, र तँ सधैंको निम्ति नाश हुनेछस् । तँ एक्लै खडा भएको दिनमा, अनजान मानिसहरूले त्यसको धन खोसेर लगेका र परदेशीहरू त्यसका मूल ढोकाहरूभित्र पसेका र यरूशलेमको निम्ति चिट्ठा हालेका दिनमा, तँ पनि तीमध्ये एकझैं थिइस् । तर आफ्नो भाइको दुर्भाग्यको दिनमा हर्षित नहो, र यहूदाका मानिसहरूको विनाशको दिनमा तिनीहरूमाथि आनन्दित नहो । तिनीहरूको विपत्तिको दिनमा घमण्ड नगर् । मेरा मानिसहरूको विपत्तिको दिनमा तिनीहरूका मूल ढोकाभित्र प्रवेश नगर् । तिनीहरूको आपदको दिनमा तिनीहरूको कष्टमाथि हर्षित नहो । तिनीहरूको विनाशको दिनमा तिनीहरूको धन-सम्पत्ति नलुट् । त्यसका भगुवाहरूलाई काट्नलाई दोबाटोमा खडा नहो, र विपत्तिको दिनमा त्यसका बाँकी बचेकाहरूलाई नसुम्पी । किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्नै थाप्लोमा फर्किनेछन् । किनकि जसरी तैंले मेरो पवित्र पर्वतमा पिएको छस्, त्यसरी नै सारा जातिहरूले त्यहाँ सधैं पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैं हुनेछन् । तर भाग्न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् । याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र तिनीहरूले त्यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्नेछैन, किनकि परमप्रभुले नै यसो भन्नुभएको छ ।” नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र शेपेलाका मानिसहरूले पलिश्तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन् । अनि बेन्यामीनले गिलादमा अधिकार गर्नेछ । निर्वासनमा गएको इस्राएलका मानिसहरूको समुहले कनान देशदेखि सारपतसम्मका देश अधिकार गर्नेछ । सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका सहरहरूमा अधिकार गर्नेछन् । उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्यो राज्य परमप्रभुको हुनेछ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.