पवित्र बाइबल
गन्ती 25
इस्राएल सित्तीमम बसे र पुरुषहरूले मोआबका स्त्रीहरूसँग व्यभिचार गर्न थाले, किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए । इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुन्डा, ताकि मेरो भयङ्कर क्रोध इस्राएलबाट हटेर जाओस् । त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।” अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो । जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए । तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो । त्यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबिस हजार थियो । परमप्रभुले मोशालाई भन्नुभयो, “पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ । यसकारण परमप्रभु भन्नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु । त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो । त्यो मारिएको मिद्यानी महिलाको नाउँ सूरकी छोरी कोजबी थियो । त्यसैले परमप्रभुले मोशालाई भन्नुभयो, “मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्यवहार गर् र तिनीहरूलाई आक्रमण गर्, किनभने तिनीहरूले तिनीहरूका छलद्वारा शत्रुहरूलाई झैँ व्यवहार गरे । तिनीहरूले पोरको र पोरको विषयमा आएको विपत्तिको दिनमा मारिएकी तिनीहरूकी बहिनी कोजबीको सन्दर्भमा तिमीहरूलाई दुष्टतातिर लगे ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.