पवित्र बाइबल
नहूम 1
निनवेको विषयमा भएको घोषणा । एल्कोशी नहूमको दर्शनको पुस्तक । परमप्रभु डाही परमेश्वर हुनुहुन्छ र उहाँले बदला लिनुहुन्छ । परमप्रभुले बदला लिनुहुन्छ र उहाँ क्रोधले भरिनुभएको छ । उहाँले आफ्ना विरोधीहरूसँग बदला लिनुहुन्छ र आफ्ना शत्रुहरूप्रति उहाँको रिस रहिरहन्छ । परमप्रभु रिसाउनमा ढिला र शक्तिमा महान् हुनुहुन्छ । उहाँले दुष्टलाई दण्डबाट उम्कन दिनुहुन्न । परमप्रभुले भुमरी र आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ, र बादलहरू उहाँका पाउका धुलो हुन् । उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् । पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्ट हुन्छन् । उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् । परमप्रभु असल हुनुहुन्छ, र कष्टको समयमा उहाँ बलियो गढ हुनुहुन्छ, र उहाँमा शरण लिनेको निम्ति उहाँ विश्वसनीय हुनुहुन्छ । तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ । तिमीहरूले परमप्रभुको विरुद्ध के षड्यन्त्र गर्दैछौ? उहाँले पूर्णरूपमा त्यो अन्त गर्नुहुनेछ । समस्या दोस्रो पटक आइपर्नेछैन । किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् । निनवे, तिमीहरूका बिचमा कोही खडा भयो, जसले परमप्रभुको विरुद्धमा योजना बनायो, र त्यसले दुष्टतालाई बढुवा दियो । परमप्रभु यस्तो भन्नुहुन्छ, “तिनीहरू आफ्ना पूर्ण शक्ति र पूर्ण सङ्ख्याको अवस्थामा भए तापनि तिनीहरू काटिनेछन्, र तिनीहरूका मानिसहरू बाँकी रहनेछैनन् । तर यहूदा, मैले तँलाई पीडा दिएको भए तापनि अब म तँलाई पीडा दिनेछैनँ । अब म मानिसहरूका जुवा भाँची तँबाट निकालिदिनेछु, तेरा बन्धनहरूलाई म तोडिदिनेछु ।” निनवे, तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ, “अब तेरो नाम बोक्ने कोही वंश बाँकी रहनेछैन । कलात्मक रूपमा हातले बनाइएका र फलाम गालेर बनाइएका मुर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट म हटाइदिनेछु । म तेरो चिहान तयार गर्नेछु, किनकि तँ तुच्छ छस् ।” हेर, असल समाचार ल्याउनुहुने, र शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् । यहूदा, आफ्ना चाडहरू मनाओ, र आफ्ना प्रतिज्ञाहरू पुरा गर, किनकि दुष्टले अब तँलाई आक्रमण गर्नेछैन, त्यो पूर्णरूपमा नाश भएको छ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.