पवित्र बाइबल
मत्ती 3
ती दिनमा बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।” किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।” अब यूहन्नाले उँटको रौँका वस्त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । उनका खानेकुरा सलह र वन-मह थिए । त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए । तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्तिस्मा लिए । तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्तिस्माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो ? पश्चात्तापको निम्ति सुहाउँदो फल फलाओ । र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्न गराउन सक्नुहुन्छ । रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ । म तिमीहरूलाई पश्चात्तापको निम्ति पानीले बप्तिस्मा दिन्छु । तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्तिशाली हुनुहुन्छ, र म उहाँका चप्पलहरू बोक्न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ । उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।” त्यसपछि यूहन्नाबाट बप्तिस्मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो । तर यूहन्नाले यसो भन्दै उहाँलाई रोक्न खोजिरहे, “मैले पो तपाईंबाट बप्तिस्मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ ?” येशूले जवाफ दिँदै तिनलाई यसो भन्नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्नाले उहाँलाई बप्तिस्मा लिन दिए । उहाँको बप्तिस्मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्नुभयो । हेर, स्वर्गबाट यसो भन्ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्न छु ।”
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.