Skip to content
BibleKenya

पवित्र बाइबल

मत्ती 23

त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो । उहाँले भन्‍नुभयो, “शास्‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन् ।” यसकारण, तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन्, ती कुरा गर र तिनीहरूलाई पालन गर । तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिँ गर्दछन्, तर पछि आफैँले ती गर्दैनन् । हो, तिनीहरूले बोक्‍न कठिन हुने गह्रौँ भारीहरू बाँधिदिन्छन्, अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन् । तर तिनीहरू आफैँले भने ती बोक्‍नलाई एउटा औँला पनि चलाउँदैनन् । तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्‍त्रका झुम्काहरू लामो पार्दछन् । तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्, अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन् । तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ । अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ । न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्‍ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ । तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ । जसले आफूलाई उच्‍च पार्दछ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्‍च पारिनेछ । तर धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ । धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू विधवाहरूका घरहरू नष्‍ट गर्दछौ, जब कि लामो-लामो प्रार्थना गरी देखाउँदछौ । यसकारण, तिमीहरूले अझ बढी दण्ड पाउनेछौ । धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्दछौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ । धिक्‍कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’ ए दृष्‍टिविहीन मूर्खहरू हो ! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्‍वरकहाँ अर्पण गर्ने मन्दिर ? अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’ ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्‍वरकहाँ अर्पण गर्ने वेदी ? अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ । अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो । ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ ! धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन् । ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् । धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन्, तर भित्रपट्टि चाहिँ मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् । यसै गरी, तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्‍टताले भरिएका छौ । धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू अगमवक्‍ताहरूका चिहानहरू बनाउँदछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्दछौ । तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौँ ।’ यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे । तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ । ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ ? त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ । यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ । साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् । ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस् ! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् । हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् । किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्‍नेछैनौ ।”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.