पवित्र बाइबल
मलाकी 2
ए पुजारी हो, यो आज्ञा तिमीहरूका निम्ति हो । “यदि मेरो नाउँलाई आदर गर्न तिमीहरूले सुन्दैनौ र त्यो हृदयमा राख्दैनौ भने, म तिमीहरूकहाँ सराप पठाउनेछु, र तिमीहरूका आशिषलाई पनि सराप दिनेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ । साँच्चै, मैले तिनीहरूलाई सराप दिइसकेको छु, किनभने तिमीहरूले मेरो आज्ञालाई आफ्नो हृदयमा राखेनौ । हेर, म तिमीहरूका सन्ततिलाई हप्काउन जाँदैछु, र म तिमीहरूका अनुहारमा गोबर छरिदिनेछु, तिमीहरूका चाड-पर्वहरूको गोबर, र त्योसँगै त्यसले तिमीहरूलाई लैजानेछ । यो आज्ञा मैले नै तिमीहरूलाई दिएको हुँ, र मेरो करार लेवीसँग रहिरहनेछ भनेर तिमीहरूले जान्नेछौ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ । “त्यससँग मेरो करार जीवन र शान्तिको थियो, र मैले ती तिनीहरूलाई दिएँ । मैले त्यसलाई डर दिएँ, र त्यसले मेरो भय राख्यो, मेरो नाउँको भयमा त्यो उभियो । त्यसको मुखमा साँचो शिक्षा थियो, र त्यसको ओठमा कुनै झुट पाइएन । त्यो मसँग शान्ति र सत्यतामा हिँड्यो र त्यसले धेरैलाई पापबाट टाढा राख्यो । किनभने पूजारीको ओठमा ज्ञान हुनुपर्छ र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्छ, किनभने त्यो सेनाहरूका परमप्रभुको समाचारवाहक हो । तर तिमीहरू साँचो मार्गबाट टाढा गएका छौ । तिमीहरूका शिक्षाले धेरैलाई ठेस लागेको छ । तिमीहरूले लेवीको करारलाई तोडेका छौ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ । “यसैले मैले पनि तिमीहरूलाई सारा मानिसहरूका अगाडि तुच्छ र निंदनीय बनाएको छु, किनभने तिमीहरू मेरा मार्गमा हिँडेका छैनौ, तर शिक्षा दिइएका कुराहरूमा पक्षपात गरेका छौ ।” के हामीहरू सबैका निम्ति एउटै पिता हुनुहुन्न र? के एउटै परमेश्वरले हामीलाई बनाउनुभएको होइन र? हामीहरू हरेक किन आफ्नो दाजुभाइको विरुद्धमा विश्वासहीन हुन्छौँ, र हाम्रा पितापुर्खाका नाउँलाई अपमानित गर्दछौ? यहूदा विश्वासहीन भएको छ । इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ । परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको छ, र त्यसले पराई ईश्वरकी छोरीसँग विहे गरेको छ । यसो गर्ने मानिस, जो बिउँझेको छ र जसले उत्तर दिन्छ, त्यसले सेनाहरूका परमप्रभुकहाँ भेटी अर्पण गर्ने भए तापनि, परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरून् । तिमीहरू यसो पनि गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसु, रोदन र विलापले ढाक्छौ, किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्न, न त त्योतिर ध्यान नै दिनुहुन्छ । तर तिमीहरू भन्छौ, “उहाँले किन गर्नुहुन्न?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनकी पत्नीबिच साक्षी हुनुहुन्थ्यो, र त्यो तेरी जीवनसाथी र करारअनुसार तेरी पत्नी हुँदाहुँदै पनि त्यसको विरुद्ध तिमीहरू विश्वासहीन भयौ । के उहाँले आफ्नो आत्मामा तिनीहरूलाई एक बनाउनुभएको होइन र? त्यसोभए किन उहाँले तिमीहरूलाई एक बनाउनुभयो? किनभने उहाँले परमेश्वरको सन्तान खोज्नुभएको थियो । त्यसैले आफैँलाई आफ्नो आत्मामा रखवाली गर र आफ्नो जवानी अवस्थाकी पत्नीसँग अविश्वासी नहोओ । “किनभने म सम्बन्धविच्छेदलाई घृणा गर्दछु,” इस्राएलका परमेश्वर, परमप्रभु भन्नुहुन्छ, “र त्यसलाई पनि जसले आफ्नो वस्त्रलाई हिंसाले ढाक्दछ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ । “यसैकारण आफैँलाई आत्मामा रखवाली गर र विश्वासहीन नहोओ ।” तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्ट काम गर्ने सबै परमप्रभुको दृष्टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्वर कहाँ हुनुहुन्छ?”
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.