Skip to content
BibleKenya

पवित्र बाइबल

लुका 20

येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए । तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ ? अथवा कसले तिमीलाई यो अधिकार दियो ?” उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु । यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?” उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?’ तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने उनीहरूले यूहन्‍नालाई अगमवक्‍ता हो भनी विश्‍वास गरेका छन्’ ।” यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।” येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।” उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए । तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए । तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए । तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए । त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’ तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’ अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान् ? उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस् !” तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “यो धर्मशास्‍त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो ?’ त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।” त्यसकारण, शास्‍त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे । तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए । उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ । हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन ?” येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्‍नुभयो, “मलाई एउटा सिक्‍का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ ?” उनीहरूले भने, “कैसरको ।” उहाँले उनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।” मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्‍क परे र केही पनि भन्‍न सकेनन् । त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ । सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो अनि माहिलाले पनि त्यसलाई विवाह गर्‍यो र निसन्तान मर्‍यो । साहिँलाले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे । पछिबाट त्यो स्‍त्री पनि मरी । यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे ? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् । तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् । तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन् । तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए । उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।” अनि शास्‍त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।” उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् । येशूले उनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन् ? किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’ यसकारण, दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए ?” सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् । तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.