Skip to content
BibleKenya

पवित्र बाइबल

लेवीहरू 7

दोषबलिको विधि यस्तो रहेको छ । यो अति पवित्र हो । दोषबलिलाई मार्ने स्थानमा नै तिनीहरूले त्यो मारून्, र वेदी वरिपरिको सबै ठाउँमा त्यसको रगत छर्कून् । त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्‍ने बोसो, दुवै मृगौला र तिनलाई ढाक्‍ने बोसो, कम्मरनेरको बोसो, र मृगौलासँगै कलेजोलाई ढाक्‍ने बोसो सबै झिक्‍नू । पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् । यो दोषबलि हो । पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो । पापबलि पनि दोषबलिजस्तै हो । यी दुवैका एउटै विधि छन् । तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्ने पुजारीकै ती हुने छन् । अरूको होमबलिलाई अर्पण गर्ने पुजारीले त्यस होमबलिको छाला आफ्नो निम्ति राख्‍न सक्छ । चुलोमा बनाइएका सबै अन्‍नबलि र ताइताप्‍के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ । सुक्‍खा वा तेलसँग मिसाइएका सबै अन्‍नबलि समान रूपमा हारूनका वंशको हुने छ । परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ । यदि कसैले त्यो धन्यवाद दिनको निम्ति अर्पण गर्दछ भने, त्यसले त्यो खमिर नराखी तेलमा मिसाएर बनाइएको रोटी, खमिर नराखी माथिबाट तेल लगाइएको रोटी, र मसिनो पिठोलाई तेलमा मिसाएर बनाइएको रोटीको भेटीद्वारा अर्पण गरोस् । साथै, धन्यवाद दिनको निम्ति, आफ्नो मेलबलिसित त्यसले खमिर राखेर बनाइएको रोटी पनि अर्पण गरोस् । परमप्रभुको निम्ति अर्पण गरिएको भेटीस्वरूप यी बलिहरूका हरेक प्रकारबाट एउटा-एउटा त्यसले अर्पण गरोस् । यो भेटी मेलबलिको रगतलाई वेदीमा छर्कने पुजारीकै हुने छ । धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू । त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस् । तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ । तर तेस्रो दिनसम्म बलिदानको जे जति मासु बाँकी रहन्छ, त्योचाहिँ जलाइयोस् । यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने, त्यो स्वीकारिने छैन, न त त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने छ । यो अति घृणित कुरो हो, र यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने छ । कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् । तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् । यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’” अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो, “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘तिमीहरूले कुनै गोरु, वा भेडा वा बोकोको बोसो नखानू । बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो, वा वन-पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ, तर निश्‍चय नै त्यो नखानू । परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् । तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू । जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ’ ।” परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो, “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस् । आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् । त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस्, र छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस् । पुजारीले बोसोलाई वेदीमा जलाओस्, तर छातीचाहिँ हारून र त्यसका वंशको हुने छ । तैँले पुजारीलाई तेरा मेलबलिहरूबाट बलिदानको रूपमा दाहिने फिला भेटी दिनू । हारूनका सन्तानहरूमध्ये मेलबलिहरूको रगत र बोसोलाई अर्पण गर्ने पुजारीले बलिदानबाट दाहिने फिला हिस्साको रूपमा लिओस् । किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती र योगदानको रूपमा फिला लिएको छु, र ती पुजारी हारून र त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको छ । पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्‍याउनलाई हारून र त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो । परमप्रभुले पुजारीहरूलाई अभिषेक गर्नुभएको दिनमा इस्राएलका मानिसहरूबाट तिनीहरूलाई दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको हिस्सा यही नै हो । सबै पुस्ताहरूमा यो तिनीहरूकै हिस्सा हुने छ । होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्, जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो’ ।”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.