Skip to content
BibleKenya

पवित्र बाइबल

लेवीहरू 21

परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू, तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ, वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्‍छ । तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् । पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून् । तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र रहून्, र तिनीहरूका परमेश्‍वरका नाउँको अपमान नगरून्, किनभने पुजारीहरूले परमप्रभुका भोजनको बलिदान अर्थात् तिनीहरूका परमेश्‍वरको भोजन अर्पण गर्दछन् । यसैकारण पुजारीहरू पवित्र रहून् । तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून् । तैँले त्यसलाई अलग राख्‍नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्‍याउने म परमप्रभु पवित्र छु । पुजारीकी छोरी जो वेश्‍या भएर आफैलाई अपवित्र बनाउछे, त्यसले आफ्नो बुबाको अपमान गर्छे । त्यो जलाइयोस् । आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् । आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् । त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ । प्रधान पुजारीले आफ्नी पत्‍नीको रूपमा कन्या केटी बिहे गरोस् । त्यसले विधवा, विच्‍छेद भएकी स्‍त्री, वा वेश्‍या बिहे नगरोस् । यस्ता स्‍त्रीहरूलाई त्यसले बिहे नगरोस् । त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्, ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई यसो भन्, ‘तेरा सारा वंशहरूभित्र तेरा उत्तराधिकारीहरूमा कुनै शारीरिक खोट छ भने, त्यसले आफ्नो परमेश्‍वरलाई भोजन अर्पण गर्न नजिक नआओस् । शारीरिक खोट भएको मानिस परमप्रभुको नजिक नआओस्, जस्तै दृष्‍टिविहीन वा हिँड्न नसक्‍ने मानिस, विरूपित वा आकार विकृत भएको मानिस, हात वा खुट्टा बाँङ्गिएको मानिस, पछाडि ढाडमा मासुको डल्‍ला पलाएको मानिस, वा धेरै पातलो वा होचो मानिस, वा आँखामा खोट भएको मानिस, वा रोग लागेको, घाउ भएको, चर्मरोग लागेको, वा अन्डाकोष पिसिएको मानिस । पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् । परमेश्‍वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ । तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।” यसैले मोशाले यी वचनहरू हारून, तिनका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई सुनाए ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.