Skip to content
BibleKenya

पवित्र बाइबल

लेवीहरू 17

परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः ‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्‍चा वा बोका मार्दछ, तर यदि त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको पवित्र स्थानअगि बलिदानको रूपमा अर्पण गर्न ल्याउँदैन भने, त्यस रक्‍तपातको कारण त्यो दोषी हुने छ । त्यसले रगत बगाएको छ र त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्‍कृत होस् । इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन्, र परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो । भेट हुने पालको प्रवेशद्वारमा पुजारीले परमप्रभुको वेदीमा रगत छर्कने छ, र परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति उसले बोसो जलाउने छ । अबदेखि तिनीहरूले बाख्राका मूर्तिहरूलाई आफ्ना बलिदानहरू अर्पण नगरून्, जसका निम्ति तिनीहरू वेश्याहरूझैँ व्यवहार गर्दछन् । तिनीहरूका मानिसहरूको समस्‍त पुस्‍तामा यो सधैँको निम्ति विधि हुने छ ।’ तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ, र त्यसलाई परमप्रभुकहाँ अर्पण गरिनलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने, त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् । यदि इस्राएलका घरानाको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले रगत खायो भने, म त्यो रगत खाने मानिसको विरुद्ध हुने छु र म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्‍कृत गर्ने छु । किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । तिमीहरूले आफ्ना प्राणको निम्ति प्रायश्‍चित्त गर्नलाई मैले त्यसको रगत तिमीहरूलाई दिएको छु, किनभने रगतले नै जीवनको प्रायश्‍चित्त गर्दछ । त्यसैकारण इस्राएलका मानिसहरू वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले पनि रगत नखाऊन् भनेर मैले तिनीहरूलाई आज्ञा गरेको हुँ । इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्‍ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस् । किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । त्यसैकारण मैले इस्राएलका मानिसहरूलाई भनेँ, “कुनै पनि प्राणीको रगत तिमीहरूले नखानू, किनभने हरेक प्राणीको जीवन त्यसको रगतमा हुन्छ । जसले त्यो खान्छ, त्यो बहिष्‍कृत होस् ।” कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ । तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने, त्यसले आफ्नो दोष बोकिरहोस् ।’”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.