Skip to content
BibleKenya

पवित्र बाइबल

विलाप 4

सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्‍ट छन् । सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्। स्यालका माउहरूले पनि आफ्ना बच्‍चाहरूलाई थुन चुस्‍न दिन्छन्, तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे । दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन । मिठा-मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन् । वैजनी वस्‍त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन् । मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन । त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए । तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए । अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ । तिनीहरू सडकहरूमा चिनिँदैनन् । तिनीहरूको छाला हड्‍डीहरूमा टाँसिएको छ । यो काठ जत्तिकै सुक्खा भएको छ । तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्। दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चा तिनीहरूको खानेकुरा बने । परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो । उहाँले आफ्नो भयङ्कर रिस खन्याउनुभयो । उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्यसका जगहरूलाई भस्म पार्‍यो । शत्रुहरू वा विरोधीहरू यरूशलेमका मूल ढोकाहरूभित्र प्रवेश गर्न सक्‍नेथिए भनी पृथ्वीका राजाहरूले विश्‍वास गरेनन्, न त संसारको कुनै बासिन्दाले विश्‍वास गर्‍यो । त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए । अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन । तिनीहरूलाई देखेर मानिसहरू चिच्‍च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्‍न सक्दैनन् ।” परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो । उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्‍न । तिनीहरूले पुजारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन् । सहायताको लागि प्रतीक्षा गर्दा-गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके । हाम्रा धरहराहरूबाट हामीले एउटा जातिको बाटो हेर्‍यौँ, जसले हामीलाई बचाउन सकेन । तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए । हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ । हाम्रो अन्त्य नजिकै थियो, र हाम्रा दिन गन्ती गरिए । हाम्रो अन्त्य आइसकेको थियो । हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे । परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणधार तिनीहरूको पासोमा परे, जसको बारेमा यसो भनिएको थियो, “उहाँकै छायामुनि हामी जाति-जातिहरूका बिचमा बस्‍ने छौँ ।” हे ऊज देशमा बस्‍ने एदोमकी छोरी, रमा, र खुसी हो । तर तँलाई त्यो कचौरा पनि दिइने छ । तँ मात्‍नेछेस्, र नाङ्गो पारिने छेस् । हे सियोनकी छोरी, तेरो दण्ड समाप्‍त हुने छ । उहाँले तेरो निर्वासनको समय लम्ब्याउनुहुने छैन । तर हे एदोमकी छोरी, उहाँले तँलाई दण्ड दिनुहुने छ । उहाँले तेरा पाप प्रकट गरिदिनुहुने छ ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.