Skip to content
BibleKenya

पवित्र बाइबल

न्यायकर्ताहरू 19

ती दिनहरूमा, जब इस्राएलमा कुनै राजा थिएन, त्यहाँ एक जना लेवी थिए, जो केही समय एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्थे । तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्‍नी लिए । तर तिनकी उपपत्‍नी तिनीप्रति अविश्‍वासी थिई । त्यसले उनलाई छोडी र यहूदाको बेथलेहेम भएको आफ्नो पिताको घरमा फर्की । त्यो त्यहाँ चार महिनासम्म बसी । त्यसपछि त्यसका पति उठे र त्यसलाई फकाएर फिर्ता ल्याउनलाई त्यसकहाँ गए । तिनीसँग उनका सेवक, र एक जोडी गधा थिए । त्यसले तिनलाई आफ्नो बुबाको घरभित्र लगी । त्यस स्‍त्रीका बुबाले तिनलाई देखेर उनी खुशी भए । तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिन दिन त्यहीं बस्‍न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए । चौथो दिनमा तिनीहरू बिहानै उठे र तिनी जानलाई तयार भए, तर त्यस स्‍त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने, “अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्, अनि जानुहोस् ।” त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्यस स्‍त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्‍नुहोस् र रमाइलो गर्नुहोस् ।” जब ती लेवी जानलाई उठे, तब त्यस जवान स्‍त्रीका बुबाले तिनलाई बस्‍नको निम्ति आग्रह गरे । यसैले तिनले आफ्नो योजना बद्ले र त्यहाँ फेरि अर्को रात बिताए । पाँचौ दिनमा तिनी जानको निम्ति बिहानै उठे, तर त्यस स्‍त्रीका बुबाले भने, “आफूलाई बलियो बनाउनुहोस् र दिउँसो नभएसम्म पर्खनुहोस् ।” यसैले ती दुई जनाले भोजन गरे । जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्छ ।” तर ती लेवीलाई त्यो रात बिताउन इच्छुक भएनन् । तिनी उठे र गए । तिनी यबूस (अर्थात् यरूशलेम) तर्फ लागे । तिनीसँग भारीले लादेका एक जोडी गधा थिए, र तिनकी उपपत्‍नी तिनीसँगै थिई । तिनीहरू यबूसको नजिकै पुग्दा, साँझ पर्न लागेको थियो, र त्यस सेवकले आफ्‍नो मालिकलाई भन्‍यो, “आउनुहोस्, हामी यबूसीहरूको सहरतर्फ फर्कौं र यो रात त्यहाँ बिताऔं ।” त्यसका मालिकले त्यसलाई भने, “हामी परदेशीहरूको सहरतर्फ जानेछैनौं जो इस्राएलका मानिसहरू होइनन् । हामी गिबामा जानेछौं ।” ती लेवीले आफ्नो त्यो जवान मानिसलाई भने, “जाऔं, गिबा वा रामामध्ये कुनै एक ठाउँमा यो रात बिताऔं ।” यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो । तिनीहरू त्यो रात बिताउन गिबामा नै रोकिए । तिनीहरू गए र सहरको चोकमा बसे, तर त्यो रात कसैले पनि तिनीहरूलाई आफ्नो घरभित्र लगेनन् । तर त्यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए । तिनी एफ्राइमको पहाडी देशका थिए, र तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए । तर त्यस ठाउँमा बस्‍ने मानिसहरू बेन्यामिनीहरू थिए । तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे । ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ? तपाईंहरू कहाँबाट आउनुभएको हो?” ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन । हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्‍ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिंदैन ।” ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्ति! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु । केवल यस चोकमा रात नबिताउनुहोस् ।” त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए । जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।” घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “होइन, मेरा भाइहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले, यस्तो दुष्‍ट काम नगर्नुहोस्! हेर्नुहोस्, मेरी कन्ये छोरी र तिनकी उपपत्‍नी यहीं छन् । म तिनीहरूलाई अहिल्यै बाहिर ल्याउनेछु । तिनीहरूलाई तपाईंहरूले जे इच्छा गर्नुहुन्छ, त्यही गर्नुहोस् । तर यी मानिसलाई त्यस्तो दुष्‍ट काम नगर्नुहोस् ।” तर ती मानिसहरूले तिनको कुरा सुनेनन्, यसैले त्यस मानिसले आफ्‍नी उपपत्‍नीलाई समाते र उसलाई बाहिर लगे । तिनीहरूले त्यसलाई बलात्कार गरे र रातभरी त्यसलाई दुर्व्यवहार गरे, र झिसमिसेमा त्यसलाई छोडिदिए । झिसमिसेमा त्यो स्‍त्री आई र त्यस मानिसको घरको ढोकामा आएर लडी जहाँ त्यसका मालिक थिए, र बिहान नभएसम्म त्यो त्यहीँ नै लडिरही । त्यसका मालिक बिहान उठे र घरका ढोकाहरू खोले र आफ्नो बाटो जानलाई हिंडे । तिनले आफ्नी उपपत्‍नीलाई आफ्नो हात पसारेर ढोकामा लडिरहेकी देखे । ती लेवीले त्यसलाई भने, “उठ, जाऔं ।” तर केही जवाफ आएन । तिनले त्यसलाई आफ्नो गधामा राखे, र ती मानिस घर जान हिंडे । जब ती लेवी घर पुगे, तिनले एउटा छुरी लिए, र आफ्नी उपपत्‍नीलाई समाए र अङ्ग-अङ्ग गरी बाह्र टुक्रा गरी काटे र ती टुक्राहरूलाई इस्राएलभरी पठाए । यो देख्‍ने सबैले भने, “इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर आएदेखि आजको दिनसम्म यस्तो कहिल्यै गरिएको वा देखिएको थिएन । यसको बारेमा विचार गर! हामीलाई सल्लाह देओ! हामीले के गर्ने हामीलाई बताओ!”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.