Skip to content
BibleKenya

पवित्र बाइबल

यहोशू 14

कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्‍त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए । जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो, त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो । किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् । वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक गरे, त्यसैले तिनीहरूले भू-भाग बाँडे । त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्‍जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्‍नुभएको थियो भनी तपाईंलाई थाहा छ । परमप्रभुका दास मोशाले यो भूमिको भेद लिन पठाउँदा म चालिस वर्षको थिएँ । मैले तिनलाई मेरो हृदयमा भएअनुसारको प्रतिवेदन ल्याएर दिएँ । तर मसँगै गएका मेरा दाजुभाइहरूले मानिसहरूको हृदय डरले शिथिल बनाइदिए । तर मैले मेरा परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएँ । त्यस दिन मोशाले यसो भने, 'निश्‍चय नै, तिम्रा खुट्टाले टेकेका भू-भाग तिम्रो र तिम्रा सन्तानहरूको एउटा अंश हुने छ, किनभने तिमीले परमप्रभु मेरा परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएका छौ ।' अब, हेर्नुहोस्, इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्‍नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्‍नुभएको छ । अब, हेर्नुहोस्, म पचासी वर्षको भएको छु । म अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु । युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ । यसकारण, परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् । किनभने तपाईंले त्यस दिन सुन्‍नुभयो, कि त्यहाँ अनाकीहरू ठुला-ठुला किल्ला भएको सहरहरूमा थिए । सायद परमप्रभुले भन्‍नुभएझैँ उहाँ मसँग रहनुहुने छ र मैले उनीहरूलाई धपाउने छु ।” त्यसपछि यहोशूले तिनलाई आशिष् दिए र यपून्‍नेका छोरा कालेबलाई हेब्रोन उत्तराधिकारको रूपमा दिए । यसकारण, हेब्रोन आजको दिनसम्म पनि यपून्‍नेका छोरा कालेबको उत्तराधिकार भएको छ, किनभने तिनले इस्राएलका परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याए । हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो । (अर्बा अनाकीमहरूमध्ये महान् मानिस थिए ।) त्यसपछि त्यो मुलुकले युद्धबाट विश्राम पायो ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.