पवित्र बाइबल
योना 3
परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो, “उठ्, र त्यस ठुलो सहर निनवेमा जा र त्यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर् ।” यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए । त्यस बेला निनवे अत्यन्तै ठुलो सहर थियो । त्यहाँ पुग्न तिन दिनको यात्रा गर्नुपर्थ्यो । योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।” निनवेका मानिसहरूले परमेश्वरलाई विश्वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्ग्रा लगाए । त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्त्र उतारे, आफूलाई भाङ्ग्रा ढाके, र खरानीमा बसे । तिनले एउटा यस्तो घोषणाको सन्देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् । तर मानिस र पशु दुबैले भाङ्ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्वारमा पुकारा गरून् । हरेक व्यक्ति आफ्ना दुष्ट मार्ग र आफ्ना हातले हिंसात्मक कामबाट फर्कून् । कसलाई जान्दछ? परमेश्वर नरम बन्न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्नुहुन्छ, जसले गर्दा हामी नष्ट हुनेछैनौं ।” तिनीहरूले जे गरे त्यो परमेश्वरले देख्नुभयो । यसरी तिनीहरू आफ्ना दुष्ट मार्गहरूबाट फर्के । यसैले परमेश्वरले तिनीहरूलाई दिन्छु भन्नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.