Skip to content
BibleKenya

पवित्र बाइबल

अय्यूब 33

त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्‍न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्‍दहरू सुन्‍नुहोस् । हेर्नुहोस्, अब मैले आफ्‍नो मुख खोलेको छु । मेरो जिब्रोले मेरो मुखमा बोलेको छ । मेरा वचनहरू मेरो हृदयको सोझोपनबाट आउँछन् । मेरो ओठले शुद्ध ज्ञान बोल्‍छ । परमेश्‍वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिएको छ । तपाईं सक्‍नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस्, र खडा हुनुहोस् । हेर्नुहोस्, परमेश्‍वरको दृष्‍टिमा तपाईं जस्तो हुनुहुन्‍छ म पनि त्‍यस्‍तै हुँ । म पनि माटैबाट रचना गरिएको हुँ । हेर्नुहोस्, मेरो डरले तपाईंलाई त्रसित नपारोस्, न त मेरो बोझ तपाईंलाई गह्रौं होस् । तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु, 'म शुद्ध र अपराधरहित छु । म निर्दोष छु, र ममा कुनै पाप छैन । परमेश्‍वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्‍नुहुन्‍छ । उहाँले मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ । उहाँले मेरो खुट्टा ठिंगुरोमा हाल्नुहुन्छ । उहाँले मेरा सबै मार्ग नियालेर हेर्नुहुन्छ ।' हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्‍न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्‍वर मानिसभन्दा महान् हुनुहुन्छ । उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन । परमेश्‍वरले एक पटक, दुई पटक बोल्नुहुन्छ, तापनि मानिसले त्‍यसको ख्याल गर्दैन । राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा, तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ, मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्‍नलाई । परमेश्‍वरले मानिसको जीवनलाई खाडल पर्नबाट, उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ । मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्‍डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ, जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ, र उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ । उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्‍ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् । वास्तवमा उसको प्राण मृत्‍युको खाडल नजिक, उसको जीवन उसलाई नष्‍ट गर्न चाहनेहरूकहाँ पुग्छ । तर के गर्नु ठिक हुन्‍छ भनेर उसलाई देखाउन, उसको निम्‍ति मध्‍यस्‍थकर्ता हुनलाई एउटा स्‍वर्गदूत छन्, हजारौँ स्वर्गदूतहरूका बिचबाट एउटा यस्तो मध्यस्थकर्ता छन्, र त्यो स्वर्गदूत ऊप्रति दयालु हुन्‍छन् र परमेश्‍वरलाई यसो भन्‍छन् भने, 'य स व्यक्तिलाई मृत्‍युको खाडल जानबाट बचाउनुहोस् । उसलाई छुटकारा दिने मोल म तिर्नेछु,' तब उसको मासु बच्‍चाको भन्दा कलिलो हुन्छ । उसले फेरि आफ्नो युवावस्थाको ताकत पाउनेछ । उसले परमेश्‍वरलाई प्रार्थना चढाउनेछ, र परमेश्‍वर ऊप्रति दयालु बन्‍नुहुनेछ, ताकि उसले आनन्दले परमेश्‍वरको मुहार हेर्छ । परमेश्‍वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्‍छ । तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्‍नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन । परमेश्‍वरले मेरो प्राणलाई मृत्‍युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्‍तर ज्योति देख्‍नेछ ।' परमेश्‍वरले एक जना व्यक्तिसित यी सबै कुरा, दुई पटक वा तिन पटक पनि गर्नुहुन्छ, उसको प्राणलाई मृत्‍युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस् । हे अय्यूब, ध्यान दिनुहोस्, र मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म बोल्नेछु । तपाईंसित भन्‍नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्‍छु । होइन भने, मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु ।”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.