पवित्र बाइबल
अय्यूब 29
अय्यूब फेरि बोल्न सुरु गरे र यसो भने , “ओहो, जस्तो म विगतका महिनाहरू थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरले मेरो वास्ता गर्नुहुन्थ्यो, जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्थ्यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्थें । ओहो, जस्तो मेरा खुशीका दिनहरूमा म थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरको मित्रता मेरो पालमाथि हुन्थ्यो, जति बेला सर्वशक्तिमान् मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरा मेरो वरिपरि हुन्थे, जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो ! जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्कन्थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें, जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्ति खडा हुन्थे र उभिन्थे । जब म आउँथें, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो । तिनीहरूले आफ्ना हातले मुख छोप्थे । कुलीनहरूका आवाजहरू बन्द हुन्थ्यो, अनि तिनीहरूको जिब्रो तिनीहरूकै तालुमा टाँसिन्थ्यो । किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्याबासी दिन्थे, किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें । मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ । मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो । दृष्टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ । खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ । मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें । तब मैले भनें, 'म आफ्नै गुँडमा मर्नेछु । म आफ्ना दिनलाई बालुवाका कणजत्तिकै वृद्धि गराउनेछु । मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ । ममा भएको आदर सधैं ताजा रहन्छ, र मेरो शक्तिको धनु सधैं मेरो हातमा सधैं नयाँ हुन्छ ।' मानिसहरूले मेरा कुरा सुन्थे । तिनीहरूले मेरो प्रतीक्षा गर्थे । मेरो सल्लाह सुन्न तिनीहरू चुप लागेर बस्थे । मेरा वचनहरू सकिएपछि तिनीहरूले फेरि बोल्दैनथ्ये । मेरो बोली तिनीहरूमा पानीको थोपाझैं खस्थ्यो । तिनीहरूले वृष्टिको प्रतीक्षा गरेझैं सधैँ तिनीहरूले मेरो प्रतीक्षा गर्थे । तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैं, मेरा वचनहरू पिउनलाई आफ्ना मुख खुला गर्थे । तिनीहरूले आशा नगर्दा पनि म तिनीहरूमा मुस्कुराउँथें । तिनीहरूले मेरो अनुहारको ज्योतिलाई इन्कार गर्दैनथे । मैले तिनीहरूका मार्ग चुन्थेँ, र तिनीहरूका प्रमुख अतिथि हुन्थें । राजा आफ्ना सेनाको बिचमा बसेझैं, शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसझैं म बस्थें ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.