पवित्र बाइबल
अय्यूब 2
तब अर्को दिनमा परमेश्वरका छोराहरूले आफैलाई परमप्रभुको सामु उपस्थित गराउनलाई आए । शैतान पनि परमप्रभुको सामु आफैलाई उपस्थित गराउन तिनीहरूसँगै आयो । परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आइस् ?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “पृथ्वीमा घुमेर, त्यसमा यता र उता गएर आएको हुँ ।” परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस् ? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ । विनाकारण त्यसलाई नाश गर्न त्यसको विरुद्धमा तैंले मलाई भ्रममा पारेको भए तापनि त्यसले अझै आफ्नो निष्ठामा कायम राखेको छ ।” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “वस्तवमा नै छालाको साटो छाला हुन्छ । एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ । तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्ने त छैनन् ।” परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्यो तेरै हातमा छ । त्यसको जीवन मात्र चाहिं तैंले छोड्नैपर्छ ।” तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्तै गयो । त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्यो । आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे । तब तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस् ।” तर तिनले उनलाई भने, “एक जना मूर्ख स्त्रीले बात गरेझैं तिमी बात गर्छ्यौ । के हामीले परमेश्वरबाट असल कुराचाहिं ग्रहण गर्नू अनि खराब कुराचाहिं ग्रहण नगर्नू ?” यी सबै कुरामा अय्यूबले आफ्नो मुखले पाप गरेनन् । जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती । तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले । जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन् । तिनीहरूले आफ्ना सोर उचालेर कराए र रोए । हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले । तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे । कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्यन्तै ठुलो भएको तिनीहरूले देखे ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.