पवित्र बाइबल
अय्यूब 12
तब अय्यूबले जवाफ दिए र भने, “निस्सन्देह तपाईंहरू मानिस हुनुहुन्छ । बुद्धि तपाईंहरूसितै मर्नेछ । तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र ? म आफ्नो छिमेकीको हाँस्ने कुरा भएको छु, मैले परमेश्वरमा पुकारा गरें अनि उहाँले मलाई जवाफ दिनुभयो । म न्यायी र दोषरहित मानिस— अहिले म हाँस्ने कुरा भएको छु । चैनमा बस्नेको विचारले दुर्भाग्यलाई घृणा गरिन्छ । चिप्लेकाहरूलाई अझै बढी दुर्भाग्य ल्याउने गरी उसले विचार गर्छ । डाँकुहरूका पालको उन्नति हुन्छ, र परमेश्वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् । तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्वर हुन् । तर अब जङ्गली पशुहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंलाई भन्नेछन् । आकाशका चराहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंलाई बताउनेछन् । वा पृथ्वीसित बोल्नुहोस्, र त्यसले तपाईंलाई सिकाउनेछ । समुद्रका माछाहरूले तपाईंलाई घोषणा गर्नेछन् । परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र ? उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ । जिब्रोले खानाको स्वाद लिएझैं, के कानले वचनको जाँच गर्दैन र ? पाका मानिसहरूसित बुद्धि हुन्छ । लामो आयुमा समझशक्ति हुन्छ । परमेश्वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् । हेर्नुहोस्, उहाँले तोड्नुहुन्छ, त्यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्छ भने, त्यहाँ छुटकारा हुँदैन । हेर्नुहोस्, उहाँले पानीलाई रोक्नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्छ भने, तिनले जमिनलाई डुबाउँछ । उहाँसित ताकत र बुद्धि छन् । धोका दिने र धोका खानेहरू दुवै मानिसहरू उहाँको शक्तिमा हुन्छन् । उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ । उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ । उहाँले राजाहरूको उच्च अधिकार खोस्नुहुन्छ । उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्छ । उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्नुहुन्छ । उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्छ, र समझशक्तिलाई धर्म-गुरुहरूबाट टाढा पुर्याउनुहुन्छ । उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्नुहुन्छ । उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्यारो छायामा ज्योति ल्याउनुहुन्छ । उहाँले जातिहरूलाई बलियो पार्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई नष्ट गर्नुहुन्छ । उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्छ । उहाँले पृथ्वीका मानिसहरूका अगुवाहरूबाट समझशक्ति हटाउनुहुन्छ । उहाँले तिनीहरूलाई उजाड-स्थानमा भौंतारिन लगाउनुहुन्छ जहाँ कुनै बाटो हुँदैन । उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.