Skip to content
BibleKenya

पवित्र बाइबल

यर्मिया 33

तब यर्मिया गारदको चोकमा थुनिएकै अवस्थामा परमप्रभुको वचन दोस्रो पटक तिनीकहाँ यसो भनेर आयो, “बनाउनुहुने परमप्रभु यसो भन्‍नुहुन्छ— सुदृढ गर्नाका लागि परमप्रभुले रचना गर्नुहुन्छ, परमप्रभु उहाँको नाउँ हो । 'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु ।' किनकि घेरा-मचान र तरवारको कारणले भत्काइएका यस सहरमा भएका घरहरू र यहूदाका राजाहरूका महलहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मेरो क्रोध र मेरो रिसमा लडाइँ गर्न र मैले मार्ने मानिसहरूका लाशहरूले म ती घरहरू भरिदिन कल्दीहरू आउँदैछन्, जति बेला तिनीहरूका सबै दुष्‍टताको कारणले म यस सहरबाट आफ्‍नो अनुहार लुकाउनेछु । तर हेर्, मैले निको पार्न र हेरविचार गर्नै लागेको छु, किनकि म तिनीहरूलाई निको पार्नेछु, र तिनीहरूकहाँ प्रचुरता, शान्ति र विश्‍वासयोग्यता ल्याउनेछु । यहूदा र इस्राएलको सुदिन म फर्काउनेछु । सुरुमा जस्तै म तिनीहरूलाई निर्माण गर्नेछु । तब तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्मबाट म तिनीहरूलाई शुद्ध पार्नेछु । तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्म र तिनीहरूले मेरो विरुद्धमा चालेका सबै विद्रोहलाई म क्षमा दिनेछु । किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्‍ने छन् । त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काँम्‍नेछन् ।' परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो,” यहूदाका सहरहरू र न त मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्‍यहाँ फेरि पनि आवाज सुनिनेछ, आनन्द र हर्षको सोर, दुलहा र दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु,’ परमप्रभु भन्‍नुहुन्छ । सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'अहिले न त मानिस न त पशु भएको यस उजाड-स्थानमा— यसका सबै सहरमा फेरि खर्कहरू हुनेछन्, जहाँ गोठालाहरूले आफ्ना बगालहरू चराउनेछन् । पहाडी देशका सहरहरू, तराई र नेगेव, बेन्यामीनको इलाका र सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरूमा बगालहरू तिनीहरूको गोठाला गर्नेहरूका हातले गनी-गनीकन चराउनेछन्,’ परमप्रभु भन्‍नुहुन्छ । ‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु । ती दिनमा र त्यस बेला म दाऊदको निम्ति एउटा धार्मिक हाँगा लिकाल्‍नेछु, र तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन् । ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षामा जिउनेछ, किनकि त्‍यसको नाउँ यो हुनेछ, 'परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ ।' किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन, न त मेरो सामु हर समय होमबलि, अर्घबलि र अन्‍नबलिहरू चढाउन लेवी कुलका पुजारीहरूमा कुनै मानिसको कमी हुनेछ ।'” परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले दिन र रातसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्यौ, र तोकिएको समयमा फेरि दिन र रात भएनन् भने, तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्‍नेछौ, जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ । जसरी आकाशका ताराहरू गन्‍न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु' ।” परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, “के यी मानिसले भनेका कुरामा तैंले ध्यान दिएको छैनस् ? तिनीहरूले भनेका छन्, 'परमप्रभुले चुन्‍नुभएका दुईवटा परिवारलाई उहाँले अहिले त्याग्‍नुभएको छ ।' यसरी तिनीहरूले मेरो मानिसलाई तिरस्कार गर्छन् । तिनीहरूका दृष्‍टमा उनीहरू अब फेरि कुनै एउटा जातिको रूपमा हरेनन् भन्दैछन् । म, परमप्रभु यसो भन्‍छु, 'मैले दिन र रातको करार स्थापित नगरेको भए, र मैले स्वर्ग र पृथ्वीका नियमहरू निधो नगरेको भए, मैले याकूब र मेरा दास दाऊदका सन्तानलाई इन्कार गर्नेथिएँ, र तिनीहरूबाट अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्‍य गर्न एक जना व्यक्तिलाई ल्याउनेथिइनँ । किनकि म तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु, र तिनीहरूमाथि कृपा देखाउनेछु' ।”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.