पवित्र बाइबल
यशैया 61
परमप्रभु परमेश्वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ । परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ । सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् । तिनीहरूले प्राचीन भग्नावशेषहरूको पुनःनिर्माण गर्नेछन् । तिनीहरूले पहिलेका उजाड अवस्थाहरूबाट पुनर्स्थापना गर्नेछन् । तिनीहरूले भग्नावशेष भएका सहरहरू र पुरानो पुस्ताका उजाड अवस्थाहरूबाट पुनर्स्थापना गर्नेछन् । विदेशीहरू खडा हुनेछन् र तिमीहरूका भेडाबाख्रा चराउनेछन्, र विदेशीका छोराहरूले तिमीहरूका खेतबारी र दाखबारीहरूमा काम गर्नेछन् । तिमीहरूलाई परमप्रभुको पुजारीहरू भनिनेछ । तिनीहरूले तिमीहरूलाई हाम्रा परमेश्वरका सेवकहरू भन्नेछन् । तिमीहरूले जातिहरूकि सम्पत्ति खानेछौ र तिनीहरूका धनहरूमा तिमीहरूले गर्व गर्नेछौ । तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्बर पाउनेछौ । अनि अपमनाको साटोमा तिनीहरू आफ्ना अंशमा आनन्दित हुनेछन् । यसरी तिनीहरूले आफ्नो देशको दोब्बर अंश पाउनेछन् । अनन्तको आनन्द तिनीहरूकै हुनेछ । किनकि म परमप्रभुले न्यान मन पराउँछु र म डकैती र अन्यायलाई घृणा गर्छु । तिनीहरूलाई इमानदार भएर म प्रतिफल दिनेछु र तिनीहरूसित म अनन्तको करार बाँध्नेछु । तिनीहरूका सन्तानहरू जातिहरूका माझमा र तिनीहरूका सन्तानहरू मानिसहरूका बिचमा चिनिनेछन् । तिनीहरूलाई देख्ने सबैले तिनीहरू परमप्रभुले आशिष् दिनुभएका मानिसहरू हुन् भनी स्वीकार गर्नेछन् । परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु । मेरो परमेश्वरमा म धैरै खुसी हुनेछु । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ । उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे । किनकि जसरी पृथ्वीले आफ्ना बिरुवाहरू उमार्छ र जसरी बगैंचाले त्यसका बिरुवाहरू बढाउँछ, त्यसरी नै पमरमप्रभु परमेश्वरले सबै जातिहरूका सामु धार्मिकता र प्रशंसा निस्कने बनाउनुहुनेछ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.