पवित्र बाइबल
यशैया 17
दमस्कसको बारेमा एउटा घोषणा । अरोएरका सहरहरूलाई त्यागिनेछ । तिनीहरू बथानहरू बस्ने ठाउँहरू हुनेछन् र तिनीहरूलाई कसैले पनि तर्साउनेछैन । किल्लाबन्दी गरिएका सहरहरू एफ्राइमबाट, दमस्कसको राज्यबाट लोप हुनेछन्, र अरामका बाँकी रहेकाहरू—तिनीहरू इस्राएलका मानिसहरूको गौरवझैं हुनेछन्— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । त्यो दिनमा यस्तो हुनेछ, याकूबको गौरव दुब्लो हुनेछ र त्यसको शरीरको मोटाइ पातलो हुनेछ । यो अन्न जम्मा गर्नेले अन्न थुपारेजस्तो हुनेछ, र त्यसका हातहरूले अन्न कटानी गर्छ । यो रपाईको बेसीमा शिला-बाला बटुलेजस्तो हुनेछ । जैतूनको रुखलाई हल्लाए जसरी पनि शिलाहरू छोडिनेछन्: माथिल्लो हाँगामा दुइ-तिन वटा वा फलको सबभन्दा अग्लो हाँगाहरूमा चार-पाँच वटा जैतून छोडिन्छन्— यो परमप्रभु इस्राएलका परमेश्वरको घोषणा हो । त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तालाई हेर्नेछन् र तिनीहरूका आँखाले इस्राएलका पवित्रलाई हेर्नेछन् । तिनीहरूले आफ्नो हातका कामहरू अर्थात् वेदीहरूतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्नै औंलाले बनाएका अशेराका खम्बाहरू न सूर्यका प्रतिमाहरूलाई नै हेर्नेछन् । त्यस दिन तिनीहरूका बलिया सहरहरू डाँडाका टाकुराहरूका भिरहरूमा त्यगिएका जङ्गलजस्तै हुनेछन्, जसलाई इस्राएलका मानिसहरूका कारणले त्यागिएका थिए र त्यो उजाड हुनेछ । किनकि तैंले आफ्नो मुक्तिको परमेश्वरलाई बिर्सेको छस् र तेरो सामर्थ्यको चट्टानलाई बेवास्ता गरेको छस् । त्यसैले तैंले सुन्दर बिरुवाहरू रोपिस् र विदेशीबाट पाएको दाखका हाँगाहरू रोपिस्, तैंले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्ट र घोर दुखको दिनमा फल दिनेछैन । धिक्कार ! धेरै मानिसहरूको गर्जन, जुन समुद्रहरूको गर्जन, र जातिहरूका हल्लाझैं गर्जन्छ, जुन शक्तिशाली पानी बगेझैं बग्छ ! जातिहरू धेरै पानी बगेझैं गर्जन्छन्, तर उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू टाढा भाग्नेछन्, डाँडाहरूमाथि भुसझैं तिनीहरू हावाको सामु उड्नेछन् र आँधीको सामु मडारिएको झारझैं हुनेछन् । हेर, साँझमा त्रास ! बिहान हुनअगि ती बितिजानेछन् ! हामीलाई लूट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्तै हुनेछ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.