पवित्र बाइबल
होशे 6
“आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्टी लगाउनुहुनेछ । दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं । हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्त ऋतुको झरीझैं आउनुहुनेछ ।” ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्वस्तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ । यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन् । किनकि म बलिदान होइन, विश्वस्तता चाहन्छु, र होमबलिहरूभन्दा धैरे परमेश्वरको ज्ञान भएको चाहन्छु । आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्वासहीन भएका छन् । गिलादचाहिं दुष्ट काम गर्नेहरूको सहर हो, जसका पाइलाहरूमा रगत छ । डाँकुहरूका समुहले कसैलाई पर्खिरहेझैं, शकेम जाने बाटोमा पुजारीहरू मार्नलाई समुहमा बस्छन् । तिनीहरूले लज्जास्पद अपराधहरू गरेका छन् । इस्राएलको घरानामा मैले घिनलाग्दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्यागमन छ, र इस्राएल अशुद्ध भएको छ । ए यहूदा तेरो निम्ति पनि कटनी तोकिएको छ, जति बेला म आफ्ना मानिसहरूको सुदिन पुनर्स्थापना गर्नेछु ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.