पवित्र बाइबल
उत्पत्ति 5
आदमका सन्तानहरूका विवरण यही हो । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो । आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे । आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । आदम ९३० वर्ष बाँचे अनि तिनी मरे । शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए । तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । शेत ९१२ वर्ष बाँचे र तिनी मरे । एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए । तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । एनोश ९०५ वर्ष बाँचे र तिनी मरे । केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए । तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । केनान ९१० वर्ष बाँचे र तिनी मरे । महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए । तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे । येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए । तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । येरेद ९६२ बाँचे र तिनी मरे । हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए । हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो । मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए । तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे । लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए । तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।” लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे । नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.