Skip to content
BibleKenya

पवित्र बाइबल

उत्पत्ति 3

परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?” स्‍त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ, तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्‍वरले भन्‍नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’” सर्पले स्‍त्रीलाई भन्यो, “निश्‍चय नै तिमीहरू मर्नेछैनौ । किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ ।” जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए । तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए । अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके। परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?” मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।” परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?” मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्‍त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाएँ ।” परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले खाएँ ।” परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् । तेरो र स्‍त्रीबिच, अनि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।” उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।” आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् । त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् । तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।” मानिसले आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन् । परमप्रभु परमेश्‍वरले आदम र उनकी पत्‍नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो । परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।” त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो । परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.