Skip to content
BibleKenya

पवित्र बाइबल

उत्पत्ति 21

आफूले भन्‍नुभएअनुसार परमप्रभुले सारालाई ध्यान दिनुभयो, र आफूले प्रतिज्ञा गर्नुभएझैँ उहाँले साराको निम्ति गर्नुभयो । सारा गर्भवती भइन् र अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्‍नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन् । आफू र साराबाट जन्मेको आफ्नो छोरोको नाउँ अब्राहामले इसहाक राखे । परमप्रभुले आज्ञा गर्नुभएझैँ आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरिदिए । आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए । साराले भनिन्, “परमप्रभुले मलाई हाँसो दिनुभएको छ; सुन्‍नेहरू हरेक मसँगै हाँस्‍नेछन् ।” तिनले फेरि भनिन्, “साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्‍नेथियो र, तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु!” त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे । मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् । त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्‍त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्‍त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्‍नेछैन ।” आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो । तर परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “त्यो केटो र तेरी कमारी स्‍त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ । त्यस कमारी स्‍त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।” अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् । जब मशकको पानी सक्‍कियो, तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन् । त्यसपछि तिनी त्यस बालकबाट केही दुरी (करिब एउटा काँडले पार गर्ने दुरी) मा गएर बसिन् र भनिन्, “मैले यस बालकको मृत्यु हेर्न नपरोस् ।” त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् र रोइन् । परमप्रभुले त्यस बालकको सोर सुन्‍नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्‍नुभएको छ । उठ, त्यस बालकलाई उठाऊ, र त्यसलाई उत्साहित गराऊ, किनभने म त्यसबाट एउटा महान् जाति खडा गर्नेछु । ” त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो, र तिनले पानीको एउटा कुवा देखिन् । तिनी गएर त्यस मशकमा पानी भरिन्, अनि बालकलाई पानी दिइन् । परमप्रभु त्यस बालकसँग हुनुहुन्थ्यो, र ऊ बढ्दै गयो । ऊ उजाड-स्थानमै बस्थ्यो र एउटा धनुर्धारी बन्यो । ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिइन् । त्यस समय अबीमेलेक र तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने, “तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ । यसैकारण अब मसँग यहाँ परमप्रभुको सामु प्रतिज्ञा गर, कि तिमीले म, मेरा सन्तति र मेरा उत्तराधिकारीहरूसँग कुनै छल गर्नेछैनौ । मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्‍वसनीयता देखाएँ तिमीले पनि त्यस्तै विश्‍वसनीयता म, र तिमी बसोबास गर्दै आएको यस भूमिप्रति देखाउनू ।” अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।” अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे । अबीमेलेकले भने, “यो काम कसले गर्‍यो मलाई थाहा भएन । तिमीले यस विषयमा मलाई पहिले नै भनेनौ, र मैले यसबारे आजसम्म केही सुनेको छैनँ ।” यसैकारण अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए, र तिनीहरूले प्रतिज्ञा गरे । त्यसपछि आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्‍ट्याए । अबीमेलेकले अब्राहामलाई भने, “तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो?” तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्‍त गर्नुहुनेछ ।” यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए । तिनीहरूले बेर्शेबामा प्रतिज्ञा गरे, र त्यसपछि अबीमेलेक र सेनापति पीकोल पलिश्तीहरूको भूमिमा फर्के । अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे । त्यसपछि उनले अनन्तका परमेश्‍वरको आराधना गरे । अब्राहाम धेरै दिन पलिश्तीहरूको भूमिमा परदेशी भएर नै रहे ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.