Skip to content
BibleKenya

पवित्र बाइबल

इजकिएल 29

दशौं वर्षको दशौं महिनामा उक्‍त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्‍यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्‌ । घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।” किनभने म तेरो बङ्गारामा बल्‍छी लगाउनेछु, र तेरै कत्‍लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् । तेरा कत्‍लाहरूमा टाँसिएका ती माछासमेत, म तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्‍नेछु । तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्‍थान फाल्‍नेछु । तँ खुला मैदानमा ढल्‍नेछस्‌ । तँलाई कसैले जम्‍मा गर्ने वा उठाउने छैन । पृथ्‍वीका प्राणीहरू र आकाशका चाराहरूका निम्‍ति आहारा हुन म तँलाई दिनेछु । तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् । जब तिनीहरूले तँलाई आफ्‍नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्‍यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् । यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, तेरो विरुद्धमा म तरवार ल्‍याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु । यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।” यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् । कुनै मानिसको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन,अनि र कुनै पशुको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन । चालीस वर्षसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन । किनकि म मिश्रदेशलाई बस्‍ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्‍मै उजाड रहनेछन्‌ । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु । किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः चालीस वर्षको अन्‍तमा मिश्रीहरूलाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका बिचबाट म भेला गर्नेछु । म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्‍यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्‍याउनेछु । तब तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्‌ । त्‍यो सारा राज्‍यहरूमा सबैभन्‍दा तुच्‍छ हुनेछ, अनि त्‍यो फेरि जातिहरूका माझमा कहिल्‍यै उच्‍च पारिनेछैन । म त्‍यसलाई घटाउनेछु, जसले गर्दा तिनीहरूले फेरि कहिल्‍यै जातिहरूमाथि राज्‍य गर्नेछैनन् । इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा त्‍यहाँ तिनीहरूले गरेको अपराधका सम्‍झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।” तब सत्ताइसौं वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्‍नो फौजले तयार राख्‍यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्‍यसले गरेको परिश्रमको सट्टा त्‍यसले र त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्‌ । यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्‍यसले उसका धन-सम्‍पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्‍यो त्‍यसको फौजको ज्‍याला हुनेछ । त्‍यसले मेरो निम्ति गरेको परिश्रमको ज्‍यालाको रूपमा मिश्रदेश मैले त्‍यसलाई दिएको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । त्‍यस दिन म इस्राएलका घरानाको निम्‍ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बिचमा म तँलाई बोल्ने बनाउनेछु, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.