Skip to content
BibleKenya

पवित्र बाइबल

इजकिएल 12

परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, तँ एउटा विद्रोही घरानाको बिचमा बस्छस्, जहाँ तिनीहरूका हेर्ने आँखा त छन्‌ तर तिनीहरू देख्‍दैनन् । अनि तिनीहरूका सुन्‍ने कान त छन्‌ तर सुन्‍दैनन्‌, किनभने तिनीहरू विद्रोही घराना हुन्‌ । यसकारण ए मानिसको छोरो, निर्वासित भएको व्‍यक्तिझैं आफ्ना सामान पोको पार्, र दिउँसै तिनीहरूले देख्‍ने गरी जान सुरु गर्, किनकि तिनीहरूकै सामु तँलाई म निर्वासित तुल्याउनेछु । तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्‍लान्‌ । निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्‍ने बाहिर निकाल्‍नेछस् । तिनीहरूका आँखाकै सामुन्‍ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस् । तिनीहरूले देख्‍ने गरी पर्खालमा प्‍वाल पार्, र त्‍यसैबाट बाहिर निक्लेर जा । तिनीहरूले हेरिरहँदा तैंले आफ्‍नो सामान काँधमा उठा, र ती अँध्यारोमा बोकेर बाहिर लैजा । आफ्‍नो मुख छोप्‌, किनकि तैंले भुइँ देख्‍नुहुँदैन, किनभने इस्राएलका घरानाको निम्‍ति मैले तँलाई एउटा चिन्‍हको रूपमा अलग गरेको छु ।” यसरी जस्‍तो मलाई आज्ञा गरियो त्‍यस्‍तै मैले गरें । निर्वासनको लागि मैले आफ्‍ना सामानहरू दिउँसो बाहिर निकालें, र बेलुका हातले पर्खालमा प्‍वाल पारें । मैले आफ्‍ना सामानहरू अँध्‍यारोमा बाहिर निकालें, र तिनीहरूले हेर्दाहेर्दै ती आफ्‍ना काँधमा बोकें । त्‍यसपछि बिहान परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, के इस्राएलका घराना, त्‍यो विद्रोही घरानाले, 'तिमी यो के गर्दैछौ?' भनेर सोधेन? तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो भविष्‍य सुचक कामले यरूशलेमका शासक र सारा इस्राएलका घरानासित सम्बन्‍ध राख्‍छ ।’ यसो भन्, 'तिमीहरूका निम्‍ति म एउटा चिन्‍ह हुँ ।’ मैले जसो गरेको छु, तिनीहरूलाई त्‍यस्‍तै गरिनेछ । तिनीहरू निर्वासन र कैदमा जानेछन् । तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्‍नो काँधमा सामान बोक्‍नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्‍ना आँखाले भूइँ नदेखोस्‌ भनेर त्‍यसले आफ्‍नो मुख छोप्‍नेछ । म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु, र त्‍यो मेरो पासोमा पर्नेछ । तब म त्‍यसलाई कल्‍दीहरूको देश बेबिलोनियामा लानेछु, तर त्‍यसले त्‍यो देख्‍नेछैन । त्‍यो त्‍यहीं मर्नेछ । त्‍यसका वरिपरि हुनेहरू जसले त्‍यसलाई मदत गर्छन् र त्‍यसका सम्‍पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु । जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्‍ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ । तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।” परमेश्‍वरको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, आफ्‍नो भोजन थरथर हुँदै खा, र काम्दै र चिन्ता गर्दै पानी पी । अनि देशका मानिसहरूलाई यसो भन्‌: 'यरूशलेमका बासिन्‍दाहरू र इस्राएल देश बारेमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “तिनीहरूले आफ्‍नो भोजन काम्दै खानेछन्, र थरथर काम्दै तिनीहरूले आफ्‍नो पानी पिउनेछन्, किनकि त्‍यहाँ बस्‍नेहरूका हिंसाको कारणले त्‍यसमा भएका सबै कुरासमेत तिनीहरूका देश उजाड पारिनेछ । मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्‍थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ ।’” फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, ‘समय लामो पारिएको छ, र हरेक दर्शन फेल हुन्छ' भन्‍ने इस्राएलमा चल्‍दैआएको उखान के हो? यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म यस उखानको अन्‍त गरिदिनेछु, र इस्राएलका मानिसहरूले फेरि कहिल्‍यै यो प्रयोग गर्नेछैनन्‌ ।' तिनीहरूलाई यसो भन्, ‘समय नजिकै आएको छ, जति बेला हरेक दर्शन पुरा हुनेछ । किनकि अब फेरि कहिल्‍यै इस्राएलका मानिसहरूका बिचमा झूटा दर्शन र जोखना हेर्नेहरू हुनेछैनन्‌ । किनकि म परमप्रभु हुँ! म बोल्छु र आफूले बोलेका कुरा पुरा गर्छु । यो कुरा ढिलो हुनेछैन । किनकि ए विद्रोही घराना, तिमीहरूका समयमा नै मैले भनेको यो कुरा म पुरा गर्नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।” फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, हेर्, इस्राएलका घरानाले यसो भनेको छ, 'त्‍यसले देखेको दर्शन अबदेखि धेरै दिनसम्‍मको लागि हो र त्‍यसले बोलेको अगमवाणी धेरै समयपछिका लागि हो ।' यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन, तर मैले बोलेका वचन पुरा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.