Skip to content
BibleKenya

पवित्र बाइबल

प्रस्थान 19

इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे । तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले । मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ । अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् । तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।” मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे । सबै मानिसले सँगसँगै जवाफ दिए, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौँ ।” तब मानिसहरूका वचन परमप्रभुलाई भन्‍न मोशा आए । परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्‍वास गरून् भन्‍ने हेतुले म बाक्लो बादलमा तँकहाँ आउनेछु” । तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए । परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ जा । आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा । तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ । तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्‍नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ ।' यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन । बरु, उसलाई निश्‍चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ । चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ । जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ ।” तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए । तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे र तिनीहरूले आ-आफ्ना लुगाहरू धोए । तिनले मानिसहरूलाई भने, “तेस्रो दिनमा तयार होओ । सहवास नगर ।” तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्‍यो र तुरहीको ठुलो आवाज आयो । छाउनीमा भएका सबै मानिस थरथर काँपे । परमेश्‍वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए । सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो । भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो । जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्‍ने गरी जवाफ दिनुभयो । परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो । त्यसैले मोशा माथि उक्ले । परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्‍ट हुनेछन् । मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् ।” मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा आउन सक्दैनन् किनकि तपाईंले हामीलाई यसरी आज्ञा दिनुभएको छः पर्वतको वरिपरि सिमाना लगाउनू र त्यो परमप्रभुको लागि अलग गर्नू' ।” परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, तँ आफै पर्वतबाट तल ओर्लेर जा, तँसँगै हारूलाई मकहाँ लिएर आइज । तर मकहाँ आउन पुजारीहरू र मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु ।” त्यसैले मोशा मानिसहरूकहाँ तल ओर्लेर गई तिनीहरूलाई यी कुरा बताइदिए ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.