Skip to content
BibleKenya

पवित्र बाइबल

व्यवस्था 24

आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् । त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे । दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्‍त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्‍नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्‍नुभएको देशलाई दोषी नबनाओ । भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस् । त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्‍नीसित रमाओस् । कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो । इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको छ भने त्यो अपहरणकारी मारिनैपर्छ । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ । कुष्‍ठरोगको विपत्तिको बारेमा तिमीहरूले ध्यान देओ ताकि पुजारीहरू अर्थात् लेवीहरूले तिमीहरूलाई सिकाएका हरेक निर्देशनलाई तिमीहरूले होसियारीसाथ पछ्याई पालन गर्न सक । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिमीहरूले गर्नू । तिमीहरू मिश्रबाट आइरहँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो, सो सम्झ । तिमीले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा धरौटी लिन उसको घरभित्र प्रवेश नगर । तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस् । त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू । सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्‍न सकोस् र तिमीलाई आशिष् दिन सकोस् । परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने छ । तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् । तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् । छोराछोरीका कारणले बुबाआमालाई नमार्नू, न त बुबाआमाको कारणले छोराछोरीलाई मार्नू । बरु, हरेक मानिस आफ्नै पापको निम्तो मरोस् । परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख । बरु, तिमीहरू मिश्रमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट छुटकारा दिनुभयो भनी याद गर्नू । त्यसकारण, यो आज्ञा पालन गर्न मैले तिमीहरूलाई निर्देशन दिएको छु । तिमीहरूले आफ्नो खेतमा फसलको कटनी गर्दा अन्‍नको एक बिटा बिर्सेका छौ भने त्यसलाई लिन फर्केर नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा आशिष् दिनुभएको होस् । तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् । तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू । छाडिएको चाहिँ परदेशी, अनाथ र विधावाको लागि हुने छ । तिमीहरू मिश्रमा कमारा थियौ भनी याद राख्‍नू । त्यसकारण, मैले तिमीहरूलाई आज्ञा गरेको यो निर्देशन मान्‍नू ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.