Skip to content
BibleKenya

पवित्र बाइबल

व्यवस्था 18

पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् । आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ । गोरु वा भेडा बलिदान गर्ने मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही होः कुम, दुईवटा गाला र आन्द्रा-भुँडी । तिमीहरूको अन्‍न, नयाँ मद्य, तेलको पहिलो फलसाथै तिमीहरूको भेडाको पहिलो ऊन तिमीहरूले पुजारीलाई दिनू । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो र त्यसका छोराहरूलाई सदाको लागि चुन्‍नुभएको छ । इस्राएलको कुनै पनि सहरमा बसेको कुनै एउटा लेवीले आफ्नो सारा हृदयले इच्छा गरेर परमप्रभुले छान्‍नुहुने ठाउँमा आयो भने परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्‍वरको नाउँमा सेवा गरोस् । त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ । जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा आउँछौ तब तिमीहरूले ती जातिहरूका घृणित कुराहरूको देखासिकी गर्न नसिक्‍नू । तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने, मोहनी लगाउने, आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस् । किनकि जसले यी कुराहरू गर्छ, त्यो परमप्रभुको दृष्‍टिमा घृणित हुन्छ । यी घृणित कामहरूको कारणले गर्दा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामु तिनीहरूलाई धपाउँदै हुनुहुन्छ । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निष्खोट हुनुपर्छ । किनकि तिमीहरूले हराउने जातिहरूले जादुगरी, शकून-अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुन्छन् । तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यसो गर्न अनुमति दिनुभएको छैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने छ । तिनको कुरा सुन्‍नू । होरेबमा सभाको दिनमा तिमीहरूले यसो भन्दै परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिन्ती चढायौ, 'हामीले फेरि परमप्रभु हाम्रा परमेश्‍वरको आवाज सुन्‍न नपरोस् न त उहाँको यो डरलाग्दो आगो देख्‍न परोस् नत्रता हामी मर्ने छौँ ।' परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूले भनेका कुरा ठिक छ । म तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु । म त्यसको मुखमा मेरा वचन हालिदिने छु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने छ । त्यसले मेरो नाउँमा बोल्ने मेरा वचन नसुन्‍ने कोही पनि मारिने छ । तर मेरो नाउँमा अहङ्कारी भएर मैले आज्ञा नगरेको वचन बोल्ने वा अन्य देवताहरूको नाउँमा बोल्ने अगमवक्ता मारिनैपर्छ ।' तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला, 'परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने ?' परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताले बोल्दा तिमीहरूले परमप्रभुको सन्देश थाहा पाउने छौ ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.