पवित्र बाइबल
प्रेरित 3
अब पत्रुस र यूहन्ना प्रार्थना गर्ने समयको नवौँ घडीमा मन्दिरतिर जाँदै थिए । त्यहाँ एक जना जन्मैदेखि हिँड्न नसक्ने मानिसलाई हरेक दिन ल्याउने गरिन्थ्यो र तिनलाई मन्दिरको सुन्दर नाउँको ढोकामा राखिन्थ्यो, ताकि ती व्यक्तिले त्यस मन्दिरमा गएका मानिसहरूसँग भिक्षा माग्न सकून् । जब तिनले पत्रुस र यूहन्नालाई त्यस मन्दिरमा जान लागेका देखे, तिनले उनीहरूसँग भिक्षा मागे । पत्रुस र यूहन्नाले तिनीतर्फ नजर अडाएर भने, “हामीलाई हेर ।” ती मानिसले उनीहरूबाट केही चिज प्राप्त गर्ने आशा राखेर उनीहरूलाई हेरे । तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्टको नाउँमा हिँड ।” पत्रुसले तिनको दाहिने हात समाए र तिनलाई उठाए र तुरुन्तै तिनको गोडा र गोलिगाँठोको हड्डीमा बल प्राप्त भयो । ती मानिस उफ्रँदै उठे र हिँड्नलाई सुरु गरे, अनि पत्रुस र यूहन्नासँगै हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गरे । सबै मानिसहरूले तिनलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे । तिनीहरूले देखे कि तिनी त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्नलाई बस्दै आइरहेका थिए र तिनमा भएका कुराले तिनीहरू आश्चर्य र विस्मयले भरिएका थिए । तिनले पत्रुस र यूहन्नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे । जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्चर्यचकित हुनुभएको छ ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ ? अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो । तपाईंले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो । तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ । अब उहाँको नाउँमाथिको विश्वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्नु र जान्नुहुन्छ । येशूप्रति यिनको विश्वासले यिनलाई तपाईंहरू सबैको सामुन्ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ । अब भाइहरू हो, तपाईंहरूले तपाईंका शासकहरूलेझैँ अज्ञानतामा कार्य गर्नुभएको कुरा म जान्दछु । तर उहाँका ख्रीष्टले दु∶ख भोग्नुपर्छ भनी ती सबै अगमवक्ताहरूका मुखबाट परमेश्वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ । त्यसकारण, पश्चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् । र उहाँले नियुक्त भइसक्नुभएका ख्रीष्ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्नुहुनेछ । सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्वरले उहाँका पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो । वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्नुहुने सबै कुराहरू तिमीहरूले सुन्नुपर्छ । ती अगमवक्ताले भनेको नसुन्ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’ हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे । तपाईंहरू अगमवक्ताका र परमेश्वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’ परमेश्वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.