Skip to content
BibleKenya

पवित्र बाइबल

२ राजाहरू 13

यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् । इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो, अनि उहाँले तिनीहरूलाई अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददको हातमा निरन्तर रूपले दिनुभयो । त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे, र परमप्रभुले तिनको कुरा सुन्‍नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्‍नुभयो । त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्‍न लागे । तापनि इस्राएललाई पाप गर्न लगाउने यारोबामका घरानाका पापहरूबाट तिनीहरू फर्केनन्, र तिनीहरू तिनमा लागिरहे । अनि अशेरा देवीको खम्बा सामरियामा रहिरह्‍यो । अरामीहरूले यहोआहाजलाई केवल पचास घोडचढी, दसवटा रथ र दस हजार पैदल सिपाही मात्र छाडे किनकि अरामका राजाले तिनीहरूलाई नाश पारेका थिए र तिनीहरूलाई अन्‍न चुट्ने समयको भुसजस्तै पारेका थिए । यहोआहाज, तिनले गरेका सबै काम र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए । यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे । परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे । यहोआश, तिनले गरेका सबै कामहरू र कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो । अब एलीशा एउटा रोगले बिरामी परे जसबाट पछि तिनी मरे । त्यसैले इस्राएलका राजा यहोआश तिनीकहाँ आए र तिनीसँग रोए । तिनले भने, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र घोडचढीले तिमीलाई उठाएर लाँदैछन् ।” एलीशाले तिनलाई भने, “एउटा धनु र केही काँडहरू उठाउनुहोस् ।” त्यसैले योआशले एउटा धनु र केही काँडहरू उठाए । एलीशाले इस्राएलका राजालाई भने, “आफ्‍नो हात धनुमा राख्‍नुहोस् ।” त्यसैले तिनले आफ्नो हातमा धनुमा राखे । तब एलीशाले आफ्ना हात राजाका हातमाथि राखे । एलीशाले भने, “पूर्वपट्टिको झ्याल खोल्नुहोस् ।” त्यसैले तिनले त्‍यसलाई खोले । तब एलीशाले भने, “हान्‍नुहोस् !” तिनले हाने । एलीशाले भने, “यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो, किनकि अरामीहरूलाई सर्वनाश नपारूञ्जेलसम्म तपाईंले तिनीहरूलाई अपेकमा आक्रमण गर्नुहुनेछ ।” तब एलीशाले भने, “काँडहरू लिनुहोस् ।” त्यसैले तिनले ती लिए । तिनले इस्राएलका राजालाई भने, “तिनले भुइँमा हान्‍नुहोस् ।” तिनले तिन पटक भुइँमा हानेपछि तिनी रोकिए । तर परमेश्‍वरका मानिस तिनीसित रिसाए र भने, “तपाईंले पाँच वा छ पटक भुइँलाई हिर्काउनुपर्थ्‍यो । तब तपाईंले अरामलाई निमिट्ट्यान्‍न नभएसम्म आक्रमण गर्नुहुनेथियो, तर अब त तपाईंले अरामलाई तिन पटक मात्र आक्रमण गर्नुहुनेछ ।” तब एलीशा मरे, र तिनीहरूले तिनलाई गाडे । नयाँ वर्षको समयमा मोआबीहरूका नयाँ दलहरूले देशलाई लुटे । तिनीहरूले कुनै एउटा मानिसलाई गाडिरहँदा तिनीहरूले मोआबीहरूको एउटा दललाई देखे, त्यसैले तिनीहरूले लाशलाई एलीशाको चिहानमा फाले । लाशले एलीशाका हड्‍डीहरूलाई छुनेबित्तिकै त्यो बिउँतियो, र आफ्नो पाउमा खडा भयो । अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे । तर अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको आफ्‍नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो, र तिनीहरूलाई दया देखाउनुभयो र तिनीहरूको फिक्री गर्नुभयो । त्यसैले परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभएन, र उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन । अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए । यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए । यहोआशले तिनलाई तिन पटक आक्रमण गरे, र तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.