पवित्र बाइबल
२ इतिहास 28
आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा जे असल थियो सो गरेनन् । बरू, तिनी पनि इस्राएलका राजाहरूका चालमा हिंडे । तिनले बाल देवताहरूका निम्ति ढलौटे मूर्तिहरू बनाए । यसको साथै तिनले बेन-हिन्नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्नेबाट परमप्रभुले देशबाट निकाल्नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्दा चालमा हिंडेर तिनले आफ्ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए । तिनले अल्गा ठाउँहरू र डाँडाका टाकुराहरू र हरेक हरिया रुखमुनि बलिदानहरू चढाए र धूप बाले । यसकारण परमप्रभु आहाजका परमेश्वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्त गरे र तिनका मानिसमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठुलो संहारका साथ पराजित गरे । रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बिस हजार सिपाहीलाई मारे, र ती सबै जना शक्तिशाली योद्धा थिए, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए । जिक्री नामको एक जना वीर एफ्राइमीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजापछिका मुख्य व्यक्ति एल्कानालाई मारे । तिनीहरूका आफन्तबाट दुई लाख पत्नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्याए । तर त्यहाँ ओदेद नामका परमप्रभुका एक अगमवक्ता थिए । तिनी सामरियामा फर्किरहेको फौजलाई भेट्न गए । तिनले तिनीहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्पिदिनुभयो । तर तिमीहरूले चाहिं रीसमा तिनीहरूको संहार गर्यौ, जो स्वर्गसम्मै पुग्यो । अब तिमीहरू यहूदा र यरूशलेमका पुरुष र स्त्री दुवैलाई दास-दासी बनाउने इच्छा गर्छौ । तर त्यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्वरको सामु आफ्नो पापको दोषी हुँदैनौ? यसैले अब मेरा कुरा सुनः आफ्ना दाजुभाइबाट तिमीहरूले कैद गरेर ल्याएकाहरूलाई फर्काइदेओ, किनकि परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूमाथि छ ।” तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात् येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए । तिनीहरूले उनीहरूलाई भने, “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न, किनकि तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरूमा परमप्रभुको विरुद्धमा पाप ल्याउनेछ, हाम्रा पाप र दोष थप्नेछ, किनकि हाम्रा दोषहरू ठुला छन् र इस्राएलको विरुद्धमा भयानक क्रोध आइपरेको छ ।” यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालहरू अगुवाहरू र सबै समुदायका उपस्थितिमा छोडिदिए । नाम तोकेर जिम्मेवारी पाएका मानिसहरू खडा भए र कैदीहरूलाई लगेर लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए । तिनीहरूलाई लुगा लगाइदिए र तिनीहरूलाई र जुत्ता दिए । तिनीहरूले उनीहरूलाई खान र पानी दिए । तिनीहरूले उनीहरूका घाउहरूको उपचार गरिदिए र कमजोरहरूलाई गधामा चढाए । तिनीहरूले उनीहरूलाई यरीहोमा (खजूरका रुखहरूको सहरमा ) आफ्ना आफन्तहरूकहाँ लगे । त्यसपछि तिनीहरू सामरिया फर्के । त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायताको निम्ति दूतहरू पठाए । किनकि एदोमीहरूले फेरि आक्रमण गर्ने आएका र यहूदालाई जितेर कैदी बनाएर लगेका थिए । पलिश्तीहरूले पनि पहाड र यहूदाको मैदानका र नेगेवका सहरहरूमा आक्रमण गरे । उनीहरूले बेथशेमेश, अय्यालोन र गदेरोत, अनि सोखो, तिम्ना र गिम्जो, तिनका बस्तीहरू कब्जा गरे । तिनीहरूले ती ठाउँमा बसोबास गर्न गए । किनकि इस्राएलका राजा आहाजको कारणले परमप्रभुले यहूदालाई तल होच्याउनुभयो । किनकि यहूदामा तिनले दुष्टतापूर्वक काम गरेका थिए र परमप्रभुको विरुद्ध धेरै पाप गरेका थिए । अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए र तिनलाई सहायता दिनुको साटोमा झन् तिनलाई कष्ट दिए । किनकि आहाजले अश्शूरका राजालाई दिनको निम्ति परमप्रभुको मन्दिर, राजा र भारदारहरूका महलहरू लुटे । तर यसले तिनलाई केही फाइदा भएन । तिनै राजा आहाजले आफ्नो कष्टको समयमा परमप्रभुको विरुद्ध झन् धेरै पाप गरे । किनकि तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूलाई बलिदान चढाए । तिनले भने, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरेका हुनाले म तिनीहरूलाई बलिदान चढाउनेछु, ताकि तिनीहरूले मलाई सहायता गरुन् ।” तर तिनीहरू नै तिनको र सारा इस्राएलको पतनको कारण बने । आहाजले परमप्रभुको मन्दिरका भाँडाकुँडाहरू जम्मा गरे र तिनलाई टुक्राटुक्रा बनाए । तिनले परमप्रभुको मन्दिरका ढोकाहरू पनि बन्द गरिदिए र तिनले यरूशलेमका हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए । यहूदाका हरेक सहरमा अरू देवतालाई बलिदान चढाउनका निम्ति डाँडाहरूका थानहरू बनाए । तिनले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए । तिनको राजकालका घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन् । आहाज आफ्ना पुर्खारूसित सुते, र तिनीहरूले उनलाई यरूशलेम सहरमा गाडे, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाडेनन् । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.