पवित्र बाइबल
१ शमूएल 24
जब पलिश्तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, “दाऊद एन-गदीको उजाड-स्थानमा छन् ।” त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्न घोरलको चट्टानमा गए । तिनी बाटोमा भेडा-गोठहरूमा आए जहाँ एउटा गुफा थियो । शाऊल दिसा गर्न भित्र गए । दाऊद र तिनका मानिसहरू गुफाको पल्लो कुनामा बसिरहेका थिए । दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्पने छु' भनी परमप्रभुले तपाईंलाई भन्नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्त्रको छेउ काटे । पछि दाऊदको हृदयमा कष्ट भयो किनभने तिनले शाऊलको वस्त्रको छेउ काटेका थिए । तिनले आफ्ना मानिसहरूलाई भने, “परमप्रभुका अभिषिक्त जन, उहाँ परमप्रभुका अभिषिक्त जन भनी देखेर पनि उहाँको विरुद्धमा मैले हात उठाउने कुरालाई परमप्रभुले नै रोक्नुभएको होस् ।” त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे । पछि दाऊद पनि उठे, गुफा बाहिर गए र शाऊललाई कराएर भनेः “हे मेरो मालिक महाराजा ।” जब शाऊलले पछाडी फर्केर हेरे, दाऊद भुइँमा घोप्टो परे र उनलाई आदर गरे । दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्ने मानिसहरूको कुरा तपाईंले किन सुन्नुहुन्छ? तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्त जन हुनुहुन्छ ।' हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्नुहुन्छ । तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन । जस्तो पुरानो उखान छ, 'दुष्टबाट नै दुष्टता निस्कन्छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन । इस्राएलका राजा कसको पछि आएका छन्? कसलाई तपाईंले खेद्दै हुनुहुन्छ? एउटा मरेको कुकुरलाई होइन र! एउटा उपियाँलाई होइन र! परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् र तपाईं र मेरो बिचमा फैसला गर्नुभएको होस्, र यो हेर्नुभएको होस्, मेरो पक्षमा वहस गर्नुभएको होस् र तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस् । जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए, तब शाऊलले भने, “मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” शाऊलले डाँको छोडेर रोए । तिनले दाऊदलाई भने, “मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु । तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ, किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ । किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने, के त्यसलाई उसले सुरक्षित साथ जान दिनेछ र? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस् । अब मलाई थाहा भयो कि तिमी साँच्चै नै राजा हुनेछौ र इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ । तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ र मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ । त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.