पवित्र बाइबल
१ शमूएल 11
त्यसपछि अम्मोनी नाहाश गए र याबेश-गिलादलाई घेरा हाले । याबेशका सबै मानिसले नाहाशलाई भने, “हामीसँग एउटा करार गर्नुहोस् र हामी तपाईंको सेवा गर्नेछौं ।” अम्मोनी नाहाशले जवाफ दिए, “तिमीहरूसँग म यस शर्तमा सम्झौता गर्नेछु, कि म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु, र यसरी सारा इस्राएलमाथि म अपमान ल्याउनेछु ।” तब याबेशका धर्म-गुरुहरूले तिनलाई जवाफ दिए, “हामीलाई सात दिनसम्म छोडिदिनुहोस्, ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौं । तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं । ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे र जे भएको थियो सो मानिसहरूलाई भने । सबै मानिसहरू धुरुधुरु रोए । यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने । जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए । तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए । जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए । तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “तिमीहरूले याबेश-गिलादका मानिसहरूलाई यसो भन, 'भोलि यति बेला मध्यन्हसम्ममा, तिमीहरूको छुट्टकारा हुनेछ,’ ।” त्यसैले दूतहरू गए र याबेश-गिलादका मानिसहरूलाई भने, र तिनीहरू खुसी भए । तब याबेशका मानिसहरूले नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं, र तपाईंलाई जे असल लाग्छ सो हामीमाथि गर्नुहोस् ।” भोलिपल्ट शाऊलले मानिसहरूलाई तिन समूहमा विभाजन गरे । बिहानको पहरमा तिनीहरू छाउनी बिचमा आए र तिनीहरूले आक्रमण गरे र मध्यन्हसम्ममा अम्मोनीहरूलाई पराजित गरे । ती जीवित रहेकाहरू सबै यसरी छरपष्ट भए, कि तिनीहरू कोही पनि दुई जना सँगै रहेनन् । तब मानिसहरूले शमूएललाई भने, “ती को थिए जसले यसो भने 'के शाऊलले हामीमाथि राज्य गर्नेछ र?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौं ।” तर शाऊलले भने, “आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।” त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगामा जानेछौं र त्यहाँ राजसत्ताप्रति फेरि भक्ति जानउनेछौं ।” त्यसैले सबै मानिसहरू गिलगालमा गए र गिलगामा परमप्रभुको सामु शाऊललाई राजा बनाए । तिनीहरूले त्यहाँ परमप्रभुको सामु मेलबलिहरू चढाए, र शाऊल र इस्राएलका सबै मानिसहरू धेरै आनन्दित भए ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.