Skip to content
BibleKenya

पवित्र बाइबल

१ पत्रुस 2

त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख । नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक, यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने, उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ । तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ । धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।” त्यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।” र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए । तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक । तिमीहरू एक समय परमेश्‍वरका थिएनौ, तर अब परमेश्‍वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्‍वरको कृपा पाएका छौ । हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु । अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् । प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्‍च राजा हुन्, या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् । किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ । स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका दासहरूजस्तै बन । सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर । कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्‍टहरूसँग पनि । किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो । यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र ? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ । यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो । उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो । उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो । हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ । तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.