Skip to content
BibleKenya

पवित्र बाइबल

१ राजाहरू 9

सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो । तब परमप्रभुले तिनलाई भन्नुभयो, “तैँले मेरो सामु राखेको प्रार्थना र बिन्ती मैले सुनेको छु । मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु । मेरा आँखा र मेरो मन सधैँभरि त्यहाँ हुने छ । मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू र उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा र सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने, म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।' तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने, मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ । यो मन्दिर भग्नावशेषको थुप्रो बन्ने छ, र यसबाट भएर जाने प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ । तिनीहरूले सोध्ने छन्, 'परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला ?’ अरूहरूले जवाफ दिने छन्, ' तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र देशबाट ल्याउनुहुने तिनीहरूका परमेश्वर परमप्रभुलाई त्यागी अरू देवताहरूको पछि लागी तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभएको हो' ।” सोलोमनले दुईवटा भवन अर्थात् परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याउन तिनलाई बिस वर्ष लाग्यो । टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए । त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए । सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए, तर तिनी खुसी भएनन् । त्यसैले हीरामले भने, “हे मेरा भाइ, तपाईंले मलाई दिनुभएका यी सहरहरू कस्ता सहरहरू हुन् ?” हीरामले ती सहरहरूलाई काबूल देश भने जसलाई आजसम्म पनि त्यही नाउँले चिनिन्छ । हीरामले राजालाई चार टन सुन पठाएका थिए । सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो । मिश्रका राजा फारोले गेजेरलाई माथि उक्लेर कब्जा गरेका थिए । तिनले यस सहरका कनानीहरूलाई मारेर जलाइदिएका थिए । त्यसपछि फारोले यो सहर आफ्नी छोरी सोलोमनकी पत्नीलाई दाइजोस्वरूप दिएका थिए । त्यसैले सोलोमनले गेजेर र तल्लो बेथ-होरोनलाई पुनर्निर्माण गरे । तिनले बालात र यहूदियाको उजाड-स्थानमा तामार, आफ्नो अधिकारमा भएका सबै भण्डारण गर्ने सहरहरू, र आफ्ना रथहहरू र घोडचढीहरू राख्नका निम्ति सहरहरू बनाए । यरूशलेम, लेबनान र आफूले शासन गरेका सबै इलाकामा आफूले इच्छा गरेअनुसार तिनले बनाउने काम गरे । बाँकी रहेका सबै एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसी जो इस्राएली थिएनन्, तिनीहरूका सन्तानहरू जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले पूर्ण रूपमा नष्ट गर्न सकेका थिएनन्, तिनीहरूलाई सोलोमनले बेगार काममा लगाएका थिए जो आजको दिनसम्म छन् । तथापि, सोलोमनले इस्राएलीहरूलाई भने बेगार काममा लगाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, अधिकृतहरू र कप्तानहरू अनि सारथीहरूका कप्तान र घोडचढीहरू बने । तिनीहरू सोलोमनका कामको रेखदेख गर्ने अधिकारीहरू पनि बने जसको सङ्ख्या पाँच सय पचास थियो । तिनीहरूले काम गर्ने मानिसहरूको रेखदेख गर्ने काम गर्थे । फारोकी छोरी दाऊदको सहरबाट सोलोमनले उनको लागि बनाएको घरमा सरिन् । पछि सोलोमनले टेवा दिने गाराहरू बनाए । सोलोमनले परमप्रभुको निम्ति बनाएका वेदीमा परमप्रभुको निम्ति धूप बाल्दै तिनले वर्षमा तिन पटक होमबलि र मेलबलिहरू चढाउँथे । यसरी तिनले मन्दिरको काम सम्पन्न गरी त्यसको प्रयोग गरे । सोलोमन राजाले लाल समुद्रको किनारमा भएको एदोमको एलात नजिकै एस्योन-गेबेरमा जहाजहरू बनाए । हीरामले आफ्ना सेवकहरू अर्थात् समुद्रको विषयमा जान्ने नाविकहरू सोलोमनका मानिसहरूसित काम गर्न सोलोमनका जहाजहरूमा पठाए । तिनीहरू सोलोमनका सेवकहरूसँगै ओपीरमा गए । त्यहाँबाट तिनीहरूले राजा सोलोमनकहाँ साँढे चौध टन सुन ल्याए ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.