पवित्र बाइबल
१ यूहन्ना 2
मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्ट हुनुहुन्छ । उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो । यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ । जसले “म परमेश्वरलाई चिन्छु “ भन्छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्यो झुटो हो, र त्यसमा सत्य हुँदैन । तर जसले उहाँको वचन पालन गर्छ, साँच्चै त्यो व्यक्ति परमेश्वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्ने हामी यसैद्वारा थाहा पाउनेछौँ । परमेश्वरमा रहन्छु भन्ने व्यक्ति आफैँ पनि येशू ख्रीष्ट जिउनु भएझैँ जिउनुपर्छ । प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो । तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्टमा र तिमीहरूमा सत्य छ, किनभने अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ । जसले ज्योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्धकारमा नै छ । जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ, र त्यसलाई ठेस लाग्ने कुनै अवसर हुँदैन । तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै अन्धकारमा नै हुन्छ र अन्धकारमा हिँड्छ । त्यो कहाँ गइरहेको छ भनी त्यसलाई थाहा पाउँदैन, किनभने अन्धकारले त्यसको आँखा अन्धो तुल्याएको छ । मेरा प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पाप ख्रीष्टको नाउँको खातिर क्षमा गरिएका छन् । बुबाहरू हो, म तपाईंहरूलाई लेख्छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूले दुष्टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ । बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनकि तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरू दुष्टमाथि विजय भएका छौ । संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन । किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् । संसार र यसका इच्छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्वरको इच्छाअनुसार गर्छ, त्यो सदासर्वदा रहिरहन्छ । साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्ट विरोधी आइरहेको छ भनी सुन्दै छौ, अहिले पनि धेरै ख्रीष्ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्ने हामी जान्दछौँ । तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन् । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्ने देखाउन तिनीहरू गए । तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्य जान्दछौ । तिमीहरूले सत्य जानेका छैनौ भनेर मैले लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झुट सत्य नहुने हुनाले हो । येशू नै ख्रीष्ट हुनुहुन्छ भनी इन्कार गर्नेबाहेक अर्को झुट को हुन्छ ? यो व्यक्ति नै ख्रीष्ट विरोधी हो, किनभने त्यसले पिता र पुत्रलाई इन्कार गर्छ । पुत्रलाई इन्कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ । तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्छौ । उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्त जीवन यही हो । तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु । तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्छ र तिमीहरूलाई सिकाउन कसैको आवश्यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्यो सत्य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो । अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस् र उहाँको आगमनमा उहाँको सामु लज्जित हुनु नपरोस् । यदि उहाँ धर्मी हुनुहुन्छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्ने तिमीहरूले जान्दछौ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.