Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
जकरिया 2
नाप्ने फित्ता लिएको मानिस
त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो अगाडि आफ्नो हातमा एउटा नाप्ने डोरी लिएका एक जना मानिस थिए! मैले सोधेँ, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?”
तिनले जवाफ दिए, “यरूशलेमलाई नाप्न, त्यसको लम्बाइ र चौडाइ कति रहेछ, सो हेर्न जाँदैछु।”
जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए, अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ। अनि म आफैँ नै त्यस सहरको चारैतिर आगोको पर्खाल हुनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भित्रको महिमा हुनेछु।’
“आओ! आओ! उत्तरको देशबाट भागिहाल,” याहवेह घोषणा गर्नुहुन्छ, “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
“हे सियोन, आइज! तँ जो बेबिलोनकी छोरीकहाँ बस्छेस्, भाग्!” किनकि सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ— म निश्चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो।
“हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.