Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 98
एउटा भजन।
याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;
किनकि उहाँले अद्भुत कार्य गर्नुभएको छ;
उहाँका दाहिने हात र पवित्र पाखुराले
उहाँको निम्ति विजयका कामहरू गरेका छन्।
याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ;
र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम,
र उहाँको विश्वासयोग्यता स्मरण गर्नुभएको छ;
पृथ्वीका सम्पूर्ण सिमानाहरूले
हाम्रा परमेश्वरका मुक्तिलाई देखेका छन्।
हे सारा पृथ्वी, आनन्दसाथ उच्च सोरले याहवेहको जयजयकार गर;
सङ्गीतद्वारा उहाँको जयको घोषणा गर;
वीणा बजाएर याहवेहको भजन गाओ!
वीणा र सुमधुर गीतकासाथ,
तुरहीहरू र भेडाका सिङ फुकेर,
राजा याहवेहको सामु आनन्दले जयजयकार गर!
समुद्र र त्यसमा भएका सबै थोकले,
संसार, र त्यहाँ बास गर्ने सबैले गुञ्जायमान गरून्।
नदीहरूका तरङ्गहरूले ताली बजाऊन्;
पर्वतहरूले एकसाथ आनन्दले गाऊन्;
तिनीहरूले याहवेहको सामु गाऊन्;
किनकि, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ।
उहाँले संसारलाई धार्मिकताकोसाथ
र जातिहरूलाई निष्पक्षतासाथ न्याय गर्नुहुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.