Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 53
सङ्गीत निर्देशकको निम्ति, महलत शैली, दावीदको मस्किल।
मूर्खले आफ्नो मनमा भन्छ,
“परमेश्वर छँदैछैन।”
तिनीहरू भ्रष्ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ;
असल काम गर्ने कोही पनि छैन।
परमेश्वरले स्वर्गबाट
सबै मानिस जातिलाई हेर्नुहुन्छ
यो जान्नलाई कि कोही त समझदार होला,
जसले परमेश्वरको खोजी गर्दछ?
तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्;
असल गर्ने कोही छैन,
एक जना पनि छैन।
के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्?
रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;
तिनीहरूले परमेश्वरलाई कहिल्यै पुकार्दैनन्।
तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन,
त्यहीँ नै तिनीहरू डरले व्याकुल भए।
परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ;
तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ;
किनभने परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।
अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!
जब परमेश्वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,
तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.