Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 51:10
Verse 10 is marked below, with the whole chapter around it. Read from the start
सङ्गीत निर्देशकको निम्ति, दावीदले बतशेबासँग व्यभिचार गरेपछि नातान अगमवक्ता तिनीकहाँ आएपछिको दावीदको भजन।
हे परमेश्वर, तपाईंको अचुक प्रेमअनुसार
ममाथि दया गर्नुहोस्;
तपाईंको महान् करुणाअनुसार
मेरा अपराधहरू मेटिदिनुहोस्!
मेरा सबै अधर्महरूलाई पखालिदिनुहोस्,
र मेरो पापबाट मलाई शुद्ध पारिदिनुहोस्!
किनकि मेरा अपराधहरू म जान्दछु;
र मेरो पाप सधैँ मेरै सामु छ।
मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु,
अनि तपाईंको दृष्टिमा जे खराबी छ, मैले त्यही गरेको छु;
यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ,
र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।
निश्चय नै म जन्मँदै पापी थिएँ,
मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।
तपाईंले गर्भमै विश्वासयोग्यता चाहना गर्नुहुन्छ;
तपाईंले मलाई त्यो गोप्य ठाउँमा बुद्धिका कुरा सिकाउनुहुन्छ।
हिसपले1 मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु;
मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
मलाई हर्ष र आनन्दका कुरा सुन्न दिनुहोस्;
तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्!
मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्,
र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!
हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्,
र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!
तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,
र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्!
तब म अपराधीहरूलाई तपाईंका मार्गहरू सिकाउनेछु,
ताकि पापीहरू तपाईंतिर फर्केर आऊन्।
हे मेरा मुक्तिदाता परमेश्वर,
मलाई हत्याको दोषबाट छुटकारा दिनुहोस्
र मेरो ओठले तपाईंको धार्मिकता गाउनेछु।
हे प्रभु, मेरा ओठहरू खोलिदिनुहोस्,
र मेरो मुखले तपाईंको प्रशंसाको घोषणा गर्नेछ।
बलिदानहरूमा तपाईं खुशी हुनुहुन्न, नत्रता म बलिदान चढाउनेथिएँ;
तपाईं होमबलिमा प्रसन्न हुनुहुन्न।
हे परमेश्वर, तोडिएको मन नै मेरो बलिदान हो;2
हे परमेश्वर, तपाईंले चूर्ण र पश्चात्तापी
हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्न।
तपाईंको कृपाले सियोनको समृद्धि होस्,
यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्।
तब तपाईं धर्मीहरूका बलिदानहरूमा प्रसन्न हुनुहुनेछ,
सिङ्गो चढाइएका होमबलिहरूमा;
तब तपाईंको वेदीमा साँढेहरू बलि चढाइनेछन्।
Source notes (2)
- Footnote एक प्रकारको सुगन्धित वनस्पति। शुद्धीकरण वा चोख्याउने काममा प्रयोग गर्ने सुगन्ध भएको तितेपातीजस्तै एक प्रजातिको झार
- Footnote अथवा परमेश्वरका बलिदानहरू हुन्
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.